२ असार २०८२, सोमबार | Mon Jun 16 2025


घर भत्किदा एक बालिकाको मृत्यु, दर्जन ठाउँमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध


0
Shares

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा गारो भत्किएर नारायण दर्जीकी छोरी नैना दर्जीको मृत्यु भएको हो ।

निरन्तरको झरीले कच्ची घरको पछाडीको गारो भत्किएको हो । यसैबीच, निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाका एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।

तिनाउ गाउपालिकाको सिद्धबाबा र जोरधारा, तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, बगनासकाली गाउँपालिका–४ शेरा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै तानसेन–११ सम्मोबारीमा पहिरो जाँदा तानसेन–रिडी सडकखण्ड र रम्भा–३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।