-सन्तोष पुर्कुटी/ईमेज
ताप्लेजुङ । बाटो भुलेर पाउने हैरानीबाट कञ्चनजंघा हिमाल जाने पर्यटक तथा गाइडले मुक्ति पाएका छन् । विश्वको तेस्रो अग्लो हिमाल जाने पदमार्गमा स्नोपोल र सांकेतिक पोल राखिएपछि टेकिङ सहज बनेको हो ।
हिउँले बाटो छोपेपछि पर्यटकलाई समस्या हुने गरेको थियो । सोही समस्या हटाउन आधार शिविर प्रवेशद्वार घुन्सादेखि माथिल्लो क्षेत्रमा पोल गाडिएको हो ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत समृद्ध पहाडले २ सय थान स्नो पोल र सय थान सांकेतिक पोल राखेको वरिष्ठ कार्यक्रम संयोजक सुदीप श्रेष्ठको भनाइ छ ।
घुन्सादेखि उत्तरी आधार शिविर जाने बाटो खम्वाचेन, लोनाक र पाङ्पेमा तथा दक्षिणी आधार शिविर जाने सेलेले, चेइराम, ओक्तानसम्म पोल गाडिएको छ ।
पाङ्पेमा उत्तरी र ओक्तान दक्षिणी आधार शिविर हुन् । उत्तरतर्फ स्नो पोल र दक्षिणतर्फ सांकेतिक पोल गाखिएको छ । गत वर्ष बाटो भुलेर हराएका पर्यटकलाई स्थानीयले सहजीकरण गरेका थिए ।
एउटादेखि अर्को देखिने गरी पोल राखिएको छ । पोलले धेरै सहज हुने पर्यटक पथप्रदर्शक बताउँछन् । विश्वकै तेस्रो अग्लो हिमालमा विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम बढ्दो छ ।
तर पूर्वाधारको विकास सोही अनुरुप नहुँदा पदमार्ग व्यवस्थित हुन सकेको छैन । कञ्चनजंघा दुई आधार शिविरबाट हेर्न सकिने नेपालको एक मात्र हिमाल हो ।
हालसम्म खासै प्रचार नभएको यो क्षेत्र पर्यटकका लागि नयाँ भएकाले रोजाइमा पर्दै गएको हो । होटल तथा टी–हाउस खुल्ने क्रम बढे पनि ठाउँ–ठाउँमा पहिरोले बाटो बिगारेको छ ।
यता कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुको यस्तो भनाइ छ । सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले काम भइरहेको परिषद्ले जनाएको छ ।
२२ देखि २८ दिनको कञ्चनजंघा यात्रालाई छोट्याएर नौ दिनमै सम्पन्न गर्न नयाँ रुट समेत सञ्चालनमा ल्याइएको छ । अब यस क्षेत्रमा पनि अन्नपूर्ण, सगरमाथामा जस्तै पर्यटकहरु आउनेमा स्थानीय पनि आशावादी छन् ।









प्रतिक्रिया दिनुहोस्