Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


रोमान्चक जिपलाइन : सुपरम्यान र टेन्डम बनेर सरर..


0
Shares

–युवराज गौतम/ईमेज

धुलिखेल । साहसीक खेल खुब रोमान्चक मानिन्छ । जति रोमान्चक हुन्छ उति चुनौतिपूर्ण पनि छ । नेपाल साहसीक खेलहरुमार्फत विश्वलाई आफ्नो फरक परिचय दिन खोजिरहेको छ । बन्जी जम्प, प्याराग्लाइडिङ मात्र होइन । अब जिप लाइन पनि नेपाललाई चिनाउने नयाँ परिचय थपिएको छ । यही जिप लाइनमा मजा लिन विशेषगरी युवाहरु झुम्मिरहेका छन् ।

सामान्य तन्नेरीहरु मात्र नभइ प्रतिष्ठित नेपालीहरु पनि जिप लाइनमा उड्न रुचाउँछन् । साहसीक खेलका पारखीहरु धुलिखेल पुगिरहेका छन् । यस्तै दुई महिनाअघि नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुषमान देशराजसँग जिप लाइनमा उडिरहेको एउटा फोटो इन्स्टाग्राममा पोष्ट गरिन । यस्तो ‘एडभेन्चर गेम’ खेलिरहेका बेला किस गरिरहेको उक्त तस्विर निकै चर्चित बन्यो ।

प्रियंका र आयुषमानको सिको गर्दै जिपलाइनमा रमाउन प्रेम जोडी साथै युवाहरु हुल बाँधेर धुलिखेल पुग्न थालेका छन् र उस्तै मजा लिइरहेका छन् । पोखरापछि धुलिखेलमा सुरु भएको साहसिक खेल जिपलाइन पर्यटकहरुको रोजाइमा पर्न थालको छ । त्यसमध्ये पनि धुलिखेलको जिपलाइन कलेजका विद्यार्थी साथै प्रेम जोडीहरुको रोजाइमा परिरहेको छ । किनकी यहाँ अन्यन्त्र भन्दा फरक सुविधाहरु थपिएका छन् ।

‘जिप लाइन मध्ये पनि हामीले नेपालमा पहिलोपटक सुरु गरेको सुपरम्यान र टेन्डम(जोडी) सुविधामा युवाहरुको आकर्षण देखिन्छ, जोडीहरु रोमान्चक अनुभव लिन पनि यहाँ आइरहेका छन्,’ जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क संचालन गरिहेको वल्ड वाइड एड्भेन्चर प्रालिका संचालक तथा संयोजक भुपेश श्रेष्ठ भन्छन्,‘गत बर्षको भ्यालेन्टाइन डे पछि बढी संख्यामा प्रेमजोडीहरु आइरहेका छन् ।’ कलाकारहरु पनि पुगिरहेका छन् । नायक अनमोल केसी, नायिका रेखा थापा, गायक गिरीश खतिवडा, बुद्ध लामालगायतले धुलिखेल पुगेर जिप लाइनको मजा लिइसकेको संचालक कम्पनीले जनाएको छ ।

नयाँ केही गरौं भन्ने सोचेर सिन्धुपाल्चोकका केदार थापा, काठमाडौंका भुपेश श्रेष्ठलगायतले एक बर्ष पहिले सुरु गरेको रोमान्चक र एडभेन्चर जिप लाइन विदेशी पर्यटकहरुले पनि आफ्नो प्याकेजमा समेट्ने गरेका छन् ।

ट्राभल कम्पनीहरुले पनि आफ्नो आइटीनरीमा समावेश गर्न थालेका छन् । प्याराग्लाइडिङ साथै बन्जीजम्प जस्तै जिप लाइन पनि रोजाइमा पर्न थालेको हो । धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर टुङ्गिन्छ । थाक्लेडाँडादेखि खावासम्म संचालन भएको जिप लाइनको दूरी करीब एक हजार एकसय मिटरको छ ।

साहसीक पर्यटन क्षेत्रका लागि यो नौलो सुरुवात भएकाले भिजिट नेपाल २०२० का लागि आकर्षण बन्न सक्ने वल्ड वाइड एड्भेन्चर प्रालिका मिडिया संयोजक विष्णुकान्त घिमिेरको भनाइ छ । करिब पाँच करोड लगानी भइसकेको जिप लाइन र रिसोर्टमा १६ वर्ष मुनिका बालबालिकालाई प्राथमिकता दिएर चिल्ड्रेन एड्भेञ्चर क्याम्प पनि निर्माण भइरहेको छ । बालबालिकाहरुका लागि पिकनिक स्पट पनि तयार हुँदैछ । यतिबेला जिप लाइन गर्न मात्र दैनिक २० देखि ८० जना पर्यटक पुगिरहेका छन् ।

युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको यो जिप लाइनमा भारतीय प्राविधिकसहित २२ जना कर्मचारी कार्यरत छन् । जिप लाइन गर्दाको फोटो र भिडियो कम्पनीले आफ्नो प्याकेजमा समेटेको छ । गोप्रो क्यामेरबाट कैद भएको तस्विर तुरुन्तै फेसबुक र इमेलमा उपलब्ध गराइन्छ ।

सुपरम्यान र टेन्डममा क्रेज

धुलिखेलको जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि तीन प्रकारले खेल्न पाइन्छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो भएकाले धेरैको रोजाइमा परेको संचालक भुपेश श्रेष्ठ बताउँछन् । एडभेन्चर खेलका पारखीहरु सुपरम्यान रोज्ने गर्छन भने साथी वा प्रेम जोडीहरु टेन्डममा रमाउँछन् ।सुपरम्यान बन्न सुतेर प्लाइङ गर्नुपर्छ । टेन्डम सुविधा रोजे बसेर आसपासको दृश्य हेर्दै आनन्दले रमाउन पाइन्छ । अर्को क्लासिक(सामान्य) सुविधाको जिप लाइन सबैले सहजै गर्न सकिन्छ ।

व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार यहाँ औसत एक मिनेट २० सेकेण्ड जिप लाइन गर्न पाइन्छ । क्लासिक गर्न २५ सय रुपैंयाँ, सुपरम्यानका लागि ३५ सय र टेन्डमका लागि ४५ सय रुपैंयाँ शुल्क तिर्नुपर्छ । रिसोर्टको बेग्लै शुल्क लाग्छ ।

यस्तो छ नियम 

एक प्रकारको फलामको डोरीमा घिर्नीको सहायताले उच्च स्थानमा साहसिक खेलको मजा लिनुपर्ने भएकाले जिप लाइन सबै उमेर समूहकाले गर्न पाउँदैनन् । १६ बर्ष माथिकाले मात्र रोजाइमा यो गेमको मजा लिन पाउँछन् । १६ बर्ष मुनि उमेर समूहका लागि परिवारको अनुमति लिनुपर्छ । फ्लाइङ गर्नुअघि फाराम भर्नुपर्छ । प्राविधिकहरुको परामर्श सुन्नुपर्छ । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी जिप लाइन गर्न पाइन्छ । यसका लागि बेग्लै क्याप र चश्मा लगाउनुपर्छ ।

यहाँको जिप लाइन युरोपियन सुरक्षा मापदण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भएकाले धेरै जोखिम छैन । यहाँबाट सूर्योदयको मनमोहक दृश्यावलोकनका साथै लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल हेरेर मजा लिन पाइन्छ ।

तलतिर हरियो जंगल र रमणीय बस्तीहरु हेर्दै उड्न पाइन्छ । विद्यार्थीलाई १० प्रतिशत र पाँच जना भन्दा बढीको समूहमा आएका पर्यटकलाई कम्पनीले १० प्रतिशत छुट दिएको छ । रिसोर्टमा बेग्लै सुविधाहरु छन् । आरामदायी कोठा र ‘ट्री–अप’ अर्थात रुख माथि नै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्टमा बेग्लै मजा लिन पाइन्छ । 

 शुल्क कति लाग्छ ?(हालको)

-क्लासिक (साधरण) जिपलाइन

नेपालीः  २५ सय रुपैयाँ

सार्क देशका नागरिक:  ३० डलर

अन्य देशका नागरिकः ३५ डलर

-सुपरम्यान जिपलाइन

नेपालीः ३५ सय रुपैयाँ

सार्क देशका नागरिकः  ४० डलर

अन्य देशका नागरिक :  ४५ डलर

टेन्डम जिपलाइन

नेपालीः  ४५ सय रुपैयाँ

सार्क देशका नागरिकः  ५० डलर

अन्य देशका नागरिकः  ६० डलर

कसरी पुग्ने ?

काठमाडौंबाट करिब ३५ किलो मिटर यात्र गरेपछि धुलीखेल पुगिन्छ । धुलीखेलबाट अरनिको राजमार्ग नछाडी चार किलोमिटर हुइँकिएपछि धुलिखेल जिपलाइनको माथिल्लो स्टेसन थाक्लेडाँडा पुगिन्छ । जुन जिप लाइन टेक अफ हुन्छ ।

त्यहाँबाट पाँच मिनेट अघि बढेपछि मुख्य सडक छाडेर कच्ची बाटो समात्नु पर्छ । थोरै ओरालो कच्ची सडक हिंडेपछि रिसोर्टसँग रहेको जिपलाइन कार्यालय पुगिन्छ । जहाँ जिप लाइनको ल्यान्डिङ स्टेसन छ । ल्यान्डिङ स्टेसनबाट कम्पनीले आफ्नै गाडीमा चढाएर जिप लाइन सुरुवातको स्टेसनमा पुर्‍याउँछ । अनि नाम दर्ता गराएर सुरक्षित गेटअपमा रोमान्चक उडान गर्न पाइन्छ ।