Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


फलफूलको उत्पादन र उपभोग गरेको वर्षौ, सरकारी अनुसन्धान र परीक्षण भने भर्खरै


0
Shares

-कविराज घिमिरे/ ईमेज

धनकुटा, मंसिर २७ । कुनै पनि नयाँ जातको बाली उपयुक्त भए नभएको अनुसन्धान गरेपछि मात्र कृषकहरु ढुक्क भएर त्यसको उत्पादन गर्न सक्छन् ।

तर कृषकले उत्पादन सुरु गरेपछि मात्र त्यसको अनुसन्धान गरिँदा कृषकहरु जोखिम मोल्न बाध्य छन् । पूर्वी पहाडी क्षेत्रमा अमिलो जातको फलफूलको खेती सुरु भएको दशकौं बितेको छ ।

सरकारी अनुसन्धान र सिफारिस बिना स्थानीय जातका कागती जुनार र सुन्तलाको खेती हुँदै आएको थियो । लामो समय बितेपछि गत वर्ष मात्र धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेले दुई सुन्तला र दुई कागती उन्मोचन गर्न सफल भयो ।

अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा रहेका छन् तर कृषकका बारीमा भने फल्न थालिसकेका छन् ।

इलाम हुँदै नेपाल भित्रिएको आगन्तुक फल किबी र धनकुटा हुँदै भित्रिएको एभोकाडोको व्यावसायिक उत्पादन सुरु भएको पनि करिब एक दशक बितेको छ ।

कृषकले आफ्नै मेहनतले किबी र एभोकाडो लटरम्मै फलाउँदासमेत सरकारी निकायले अनुसन्धान पूरा गर्न सकेको छैन । किबी र एभोकाडो अनुसन्धानको जिम्मा धनकुटाको पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्रले पाएको छ ।

विगत पाँच वर्षदेखि यी फलको अनुसन्धान भइरहेको केन्द्रका प्रमुख अमर पुन बताउँछन् । तर अहिलेसम्म यसको खेती उपयुक्त हो वा हैन भन्नेसम्म पनि निर्क्यौल हुन सकेको छैन ।

अन्य कृषिप्रधान मुलुकमा सरकारी निकायले अनुसन्धान पूरा गरी सिफारिस गरेपछि खेती सुरु हुने गरेको छ । तर हाम्रो देशमा भने अधिकाँश फलफूलको कृषकले आफै उत्पादन गरेर परीक्षण गर्नुपर्ने बाध्यता छ ।

सरकारी अनुसन्धान छिटोछरितो र प्रभावकारी नहुँदा कृषकले विभिन्न समस्या भोग्नुपरेको कृषि अभियन्ता जीवन राइको भनाइ छ । किवी र एभोगाडोलगायतका कैयौं फलफूल कृषकले आम्दानी लिन थालेपछि मात्र अनुसन्धान गरिने गरिएको छ ।

यस्तो प्रवृत्ति र परिस्थितिका कारण कृषक आफै जोखिम मोलेर परीक्षण खेती गर्न बाध्य छन् ।