Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


झोलुङ्गे पुलमा मोटरसाइकल दौडाउँदा विद्यार्थीलाई वारपार गर्न सकस


0
Shares

– उपेन्द्र खनाल/इमेज          

तनहुँ, मंसिर २६ । झोलुङ्गे पुलमा जथाभावी मोटरसाइकल गुडाउँदा तनहुँको देवघाटका विद्यार्थीलाई पुल वारपार गर्न समस्या भएको छ ।

चितवन र तनहुँ जोड्ने देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा त्यस क्षेत्रका बिद्यार्थीलाई विद्यालय जान सकस भएको हो ।

अन्धाधुन्ध मोटरसाइकल गुडाउँदा देवघाटको झोलुङ्गे  पुल जीर्ण मात्रै बनेको छैन बालबालिकाले समेत समस्या झेल्दै आएका छन् ।

कहिलेकाँही पुलमा हुने सवारी जामका कारण उनीहरु समयमै विद्यालय पुग्न समेत कठिन हुने गरेको छ । यसबाट विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित भएका छन् भने भक्तजन र स्थानीयले पनि हैरानी खेप्नुपरेको छ ।

भीडभाड नहुँदा पाँच मिनेटमै आवतजावत गर्न सकिने पुलमा मोटरसाइकल गुडाउँदा जाम हुने भएकाले १५ मिनेटसम्म लाग्ने गरेको छ ।

पुलमा मोटरसाइकल र स्कुटर डोर्‍याएर हिडे आफूहरुलाई वारपार गर्न सजिलो हुने विद्यार्थीको आग्रह छ । कोहीकोहीले सवारीसाधन डोर्‍याएर हिडे पनि अधिकांशले भने चलाएरै जाने गरेका छन् जसले पुल जीर्ण त बनेको छ नै आवातजावत गर्नेहरुलाई समेत सास्ती भइरहेको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन् ।

कहिलेकाहीँ त पुलमा सात आठ वटासम्म मोटरसाइकल एकैपटक गुडाउने गरिएको छ । पुलको बर्र्सैिपच्छे  मर्मत हुने गरेको छ ।

सवारी साधनका लागि अन्य विकल्प नभएकाले यसलाई नियन्त्रण गर्न नसकेको देवघाट गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत रमेश सुवेदीको भनाइ छ ।

दिनहुँ सयौंको संख्यामा मोटरसाइकल र स्कुटर वारपार गराउँदा पुलको आयु घट्दै गएको र स्थानीयलाई सास्ती भएकाले यसका विकल्प तत्काल खोजिनुपर्छ ।