Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


विद्यालय बन्द हुँदा पनि २१ करोड ४२ लाख रूपैयाँ दिवा खाजामा निकासा


156
Shares

काठमाडौं । कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेला पनि दिवा खाजाका लागि करोडौं रुपैयाँ निकासा भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदन अनुसार लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि विभिन्न पालिकाहरूले विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२ लाख रुपैयाँ लगेका छन् ।

२०७७ सालको चैतदेखि लकडाउन सुरु भएपछि असारसम्म धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौटहतको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेका छन् ।

लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् । यस्तै १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि लगेका छन् ।

यस्तै, दिवा खाजा रकम विद्यालयलाई निकासा गर्दा अभिभावकलाई नगद दिने कुनै नियम कानुन नरहे पनि परोहा नगरपालिका रौतहटले दिवा खाजा वापतको रकम अभिभावकलाई बाँडेको र १ करोड १७ लाख रुपैयाँ निकासा अनियमित देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालय बन्द भएको बेलामा खाजाको लागि लगेको पैसा असुल गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न र भर्ना दर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर दिवा खाजाको रकममा व्यापक अनियमितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।