Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चार नयाँ परियोजनालाई एडीबीद्वारा ४० अर्ब ४५ करोड ऋण


0
Shares

काठमाडौं, मंसिर २४ । एसियाली विकास बैंक (एडीबी)ले चारओटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकले पोखरा–मुग्लिन सडकखन्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित वाग्मती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप रु सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आय–आर्जन वृद्धिका लागि रु पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन रु पाँच अर्ब ६५ करोड प्रदान गर्नेछ ।

नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत् उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखन्डलाई चार ‘लेन’मा विस्तारमा उपयोग गरिनेछ ।

त्यसैगरी, वाग्मती नदीको सौन्दर्यीकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ ।

त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति एडीबीले उल्लेख्य मात्रामा सहायता रकम वृद्धि गरेको बताउँदै ‘त्यसले बैंक र नेपाल सरकारबीचको साझेदारी एवं सहकार्यलाई उजागर गर्छ’–भने ।

सचिव खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडीबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे । रासस

Skip This