Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


कोहलपुरमा विद्यार्थी र प्रहरीबीच झडप, डीएसपी शाहीसहित नौं प्रहरी घाइते


0
Shares

नेपालगन्ज । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि आन्दोलन चर्किएको छ ।

कक्षा ७ मा अध्ययनरत प्रगति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो ।

दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका छन् ।

प्रहरी र विद्यार्थीबीचको झडपमा कोहलपुरका प्रहरी प्रमुख (डीएसपी) हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

झडपमा केही विद्यार्थीहरु समेत घाईते भएका छन् । घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज(आइतबार) बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर–१० की प्रगति चन्द घाइते भएकी थिइन् ।

त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ ।

उनी स्कुटर पछाडी बसेकी थिइन् । आक्रोशित विद्यार्थीहरुले बिहानैदेखि कोहलपुर–नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् ।

कोहलपुर प्रहरी चौकी घेरा हाल्नुको साथै परिसरमा रहेको एउटा क्यान्टिनमा आगजनी समेत गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ भने दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेकाले सुरक्षा समितिको बैठकले आवश्यक निर्णय लिने जानकारी दिए ।