४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


काँचै किवी बजारमा छापछापती भएपछि किसान चिन्तित


0
Shares

-प्रकाश नेपाल/इमेज 

इलाम, मंसिर २१ । नपाक्दै किवी फल बजारमा आएपछि इलामका कृषकहरु चिन्तित बनेका छन् ।

काँचो किवी खाँदा पनि स्वादिलो नहुने र भण्डारण गर्न पनि कठिनाइ हुने भएकाले कृषकहरु चिन्तित बनेका हुन् ।

पाकेर खान योग्य नभएको किवी फल बजारमा बिक्री हुन थालेपछि इलामका किसान चिन्तित छन् । काँचो किवी बिक्री वितरण हुँदा यसले दिगो बजारमा असर गर्ने किसानहरुको बुझाइ छ ।

परिपक्व नभएको फल खानका लागि हानिकारक हुने भएकाले यसप्रति उपभोक्ताको नकारात्मक धारणा बस्ने किसानले आँकलन गरिरहेका छन् ।

जसको कारण उपभोक्ताको आकर्षण घट्ने देखिन्छ । काँचो किवी खाँदा कोक्याउने अमिलो हुने, धेरै समय भण्डारण गर्दा चाउरिने तर मिठास नहुने कृषकहरु बताउँछन् ।

समय अगावै किवी टिपेर बजारमा आउन थालेपछि किवी जोन परियोजना र इलाम उद्योग वाणिज्य संघले सचेतना अभियान नै सुरु गरेका छन् ।

रातो किवी फल भदौमा नै परिपक्व हुने तथा हरियो किवी मंसिरपछि मात्र परिपक्व हुने भएकाले समयअगावै नटिप्न आग्रह गरिएको छ । इलाम, पाँचथर र ताप्लेजुङका केही किसानले जानकारी अभावमा समयअगावै किवी बजारमा ल्याएका थिए ।

इलाममा रातो किवीका अलावा ब्रुनो, अलिसन, हेवार्ड जातका किवी लगाएको पाइन्छ । हवार्ड जातको किवी अन्य जातभन्दा उच्च गुणस्तरको मानिन्छ ।

इलाममा किवी जोन परियोजना सञ्चालन भएपछि गुणस्तर सुधार र बजारीकरणको काम हुँदै आएको छ ।