
काठमाडौं, मंसिर २० । जनता बैंकसँगको ‘मर्जर’पछि ग्लोबल आइएमई देशकै ठूलो बैंक बन्न सफल भएको छ ।
अर्थतन्त्री डा. युवराज खतिवडाले जनता र ग्लोबल आइएमई बैंकको शुक्रबार एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
योसँगै पुँजी, ग्राहक, शाखा सन्जाल आदि सबैका हिसाबले ग्लोबल आइएमई बैंक देशको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको हो ।
बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुगेको छ ।
शाखा सन्जाल ८४० र ग्राहक संख्या २० लाखभन्दा बढी पुगेको बैंकले जनाएको छ ।
बैंकको निक्षेप दुई खर्ब १३ अर्ब अनि कर्जा प्रवाह एक खर्ब ९४ करोड पुगेको पनि बैंकले जनाएको छ ।
एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारका लागि मध्यकालीन र दीर्घकालीन लगानीको आवाश्यकता रहेको बताए ।
उच्च आर्थिक वृद्धिका लागि ठूलो पुँजी आवश्यक हुने र ठूलो पुँजी निर्माणका लागि पनि बैंक मर्जरमा जानुपर्ने उनको भनाइ छ ।
बैंकले ठेक्कामा कर्मचारी लिनु ठीक नभएको भन्दै सुशासन पालनाका लागि आफ्ना कर्मचारीलाई पनि राम्रोसँग चिन्नुपर्नेमा उनले जोड दिए ।
मुलुकको दिगो विकासका लागि बैंकर आफूमात्रै समृद्ध नभइ सबै सरोकारवाला लाभान्वित हुनुपर्नेमा उनले ध्यानाकर्षण गराए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी यस मर्जरले अन्यलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।
डा. नेपालले मानव संशाधन र प्रविधिमा लगानी बढाएर विश्वसनीय सेवा दिन पनि बैंकरहरुलाई सुझाव दिए ।
नेपाली बैंकहरु अझैपनि प्रविधिमा पछि नै भएकाले प्रविधिगत क्षमतालाई विकास गर्नुपर्नेमा जोड दिए ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो प्रक्रियासँगै बैंकको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भइ ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने बताए ।
साथै, यसबाट मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीलाई स्वस्थ एवं कुशल बनाइ वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नसमेत मद्दत पुग्ने विश्वास पनि ढकालले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्