-दुर्गा उपाध्याय/ईमेज
कन्चनपुर । कञ्चनपुरको बडुवाल टोलमा वर्षेनी जंगली हात्तीको आंतक मच्चाउँछ । यहाँका स्थानीयले विगत सात वर्षदेखि हात्तीकै कारण अन्नवाली भित्र्याउन पाएका छैनन् ।
हात्तीकै कारण नदीको बगरमा रात काट्ने यहाँका बासिन्दाले गाउँमा बिजुली आएपछि भने केही राहत महसुस गरेका छन् ।
महाकाली नगरपालिकाको वडा नं ३ अन्तर्गत पर्ने बडुवाल भारतीय सीमा क्षेत्रसँग जोडिएको बस्ती हो । वर्षौँदेखि जंगली हात्तीले आतंक मच्चाउदै आए पनि यहाँका स्थानीयले सरकारबाट कुनै राहत पाएका छैनन् ।
त्यति मात्र होइन दुई वर्ष अघिसम्म बिजुलीको पहुँच नहुँदा यहाँका स्थानीयले रातभर जोगबुढा नदीको बगरमा रात बिताउनुपर्ने बाध्यता थियो ।
तर अहिले स्थानीय सरकार आएपछि भने बडुवाल टोलको रुप नै फेरिएको छ । जोगबुढा नदीमा तटबन्ध र झोलुङ्गे पुल निर्माणसँगै खरको छाप्राले भरिएको यस बस्तीमा अहिले धमाधम पक्की घरहरु निर्माण भइरहेका छन् भने बस्ती पनि बाक्लिँदै गएका छन् ।
दुई वर्षअघिसम्म रातको समयमा हात्तीको डरले घर छोडेर बगरमा बस्नुपर्ने अवस्था रहेपनि अहिले बिजुली आएपछि धेरै सजिलो भएको स्थानीयको भनाइ छ ।
अधिकांश दलित तथा विपन्न परिवारको बसोबास रहेको बडुवाल टोलमा घरमा पुरुष नभएका महिलाहरुलाई रातको समयमा बालबच्चा र आफ्नै ज्यान जोगाउन निकै सास्ती हुने गर्दथ्यो ।
अँध्यारोमा भाग्ने क्रममा आगोमा परेर कतिपय बालबालिका घाइतेसमेत भएका छन् । तर, अहिले गाउँमा बिजुली आएपछि महिलाहरुले राहत महसुस गरेको बताउँछन् ।
कञ्चनपुरमा हात्तीकै आक्रमणबाट हालसम्म पाँच जनाको ज्यान गइसकेको छ भने वर्षेनी दर्जनौ घाइते हुने गरेका छन् ।
तर, सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ ल्याए पनि यहाँका सबै हात्ती पीडित परिवारले राहत पाउन सकेका छैैनन् ।









प्रतिक्रिया दिनुहोस्