
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत नौं करोड रुपैयाँ भन्दाबढी लागतमा निर्माण सुरु भएको बनौनिया–चपेना सडकखण्डको मापदण्ड विपरित भइरहेको पाइएको छ ।
जनप्रतिनिधि र स्थानीयवासीले ठेकेदार कम्पनीको विरोध गर्न थालेपछि सडक स्तरोन्नति कार्य मापदण्ड विपरित भइहेको खुल्न आएको हो ।
२०७४ असोज २४ गते ‘बनैनिया महुकी ट्राफिक चौक सप्तरी’ नामक योजनाको सम्झौता भएको थियो ।
कर बाहेक ९ करोड ६८ हजार ५ सय १३ रुपैयाँ ५० पैसामा ठेक्का पाएको लहानस्थित बज्रगुरु÷विकास जेभीले सप्तरीको राजगढ गाउँपालिका अन्तर्गत बनौनिया–चपेना सडकखण्डमा स्तरोन्नतिको कार्य थालको हो ।
तर ठेकेदार कम्पनीले बजेट पचाउन इष्टिमेटअनुसार स्तरोन्नति कार्य नगरेको स्थानीय बताउँछन् ।
कुल १० मिटरको सडक स्तरोन्नति गरी कालोपत्रे गर्नुपर्नेमा कतै ५ मिटर, कतै ७ मिटर मात्रै सडक कायम गरी मनपरी ढंगले कालोपत्रे कार्य अघि बढाएको स्थानीयको भनाइ छ ।
सडक कालोपत्रे कार्यमा पनि गुणस्तरीयतालाई ध्यान नदिइएको र निर्माणस्थलमा कम्पनीको प्राविधिक नरहने गरेको स्थानीयहरुको आरोप छ ।
ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा मनपरी गरिरहेको विषयमा तीन महिनाअघि नै सडक डिभिजन कार्यालय लहान र जिल्ला प्रशासन सप्तरीमा पत्र काटेर जानकारी गराउँदा पनि सुनुवाई नभएको वडाअध्यक्ष ललितप्रसाद सिंहको गुनासो छ ।
यता निर्माण कम्पनीका सौरभ सिंहले स्थानीयहरुको अवरोधका कारण कतै कतै सडक स्तरोन्नति समस्या रहेपनि इष्टिमेटअनुसार नै कार्य भइरहेको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्