
काठमाडौं, साउन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका नाममा पार्टीका गतिविधि नरोक्ने जवाफ दिएको छ ।
विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले आह्वान गर्नु भएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि पार्टी प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकताको नाममा पार्टीका गतिविधि अनन्तकालसम्म रोक्न नसकिने बताउनुभयो ।
स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने उहाँको भनाई थियो । सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने प्रवक्ता ज्ञवालीको भनाइ छ ।
पार्टीको विधानलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे नेताहरूले सुझाव दिएको र सोहीअनुसार आगामी केन्द्रीय कमिटीको बैठकले प्रस्ताव तयार पारेर तल्लो तहका कमिटीसम्म छलफलका लागि लैजाने पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्