Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सवारी साधनमा छुट माग्दा ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार, सरकारको सहुलियत कागजमै सिमित


0
Shares

-कविराज घिमिरे/ईमेज 

धनकुटा, मंसिर १८ । सरकारले ज्येष्ठ नागरिकलाई यातायात, स्वास्थ्यलगायतका क्षेत्रमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । तर धनकुटामा भने यसको कार्यान्वयन हुन सकेको छैन ।

सरकारले २०७० साल कात्तिकबाट ज्येष्ठ नागरिकलाई यातायात, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो ।

घोषणा भएको ६ वर्ष  वितिसक्दा  पनि धनकुटामा यसको कार्यान्वयन पक्ष नगन्य छ । ज्येष्ठ नागरिकका संघसंस्थाको अगुवाइमा भएको आन्दोलनका कारण सरकारले त्यसलाई अनुमोदन गरे पनि कार्यान्वयन हुन नसक्दा त्यसको कुनै अर्थ नभएको सरोकारवालाको प्रतिक्रिया छ ।

सरकारले घोषणा गरेको सुविधा उपभोग गर्न नपाएको धनकुटाका ज्येष्ठ नागरिक सघं धनकुटाका अध्यक्ष टीकाप्रसाद घिमिरेको भनाइ छ ।

अहिले पनि सवारी साधनमा छुट माग्दा दुव्र्यवहार गर्ने तथा स्वास्थ्य संस्थामा पहुँचको भरमा मात्र छुट पाइने प्रवृत्ति रहेको ज्येष्ठ नागरिकको गुनासो छ ।

त्यसैले ज्येष्ठ नागरिकहरु पुन आफ्ना माग लिएर नियामक निकाय धाउन बाध्य छन् । विभागले ‘सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि, २०७०’ लागू गरेको थियो ।

जसमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत भाडा छुट, आरक्षित सिट तथा ७० प्रकारका औषधि निशुल्क दिइने व्यवस्था उल्लेख गरिएको छ ।

सरकारले घोषणा गरेको व्यवस्था कार्यान्वयन नहुनु लज्जाजनक भएको भन्दै यसलाई जति सक्दो छिटो कार्यान्वयनका लागि पहल गर्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेको भनाइ छ ।

यता सर्वोच्च अदालतले उक्त व्यस्थालाई तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सरकारी निकायलाई अन्तरिम आदेश दिएको थियो । तर धेरै ठाउँमा यसको कार्यान्वनमा अटेरी गरिएको छ ।