डम्मर बुढामगर (इमेज)
बागलुङ, मंसिर १७ । गुल्मीबाट बागलुङसम्मको यात्रा तय थियो । जिपमा १८ जना सवार भए । चालकले जिप गुडाए ।
देवाली (कुलपूजा) मनाउन उनीहरु बागलुङको देवीस्थान, बायखोलातर्फ जाँदै थिए । तर, गन्तव्यमा पुगेनन् ।
निर्धारित् स्थानभन्दा करिब १५ किलोमिटर वर उनीहरुले अकल्पनीय दुर्घटना व्यहोरे ।
ग१ज ५२१९ नम्बरको जिप बागलुङको बडिगाड गाउँपालिका–७, घोपर्नामा पल्टियो ।
जिपमा सवार १८ मध्ये १४ जनाले ज्यान गुमाए । दुर्घटनामा परेका एकजना अझै बेपत्ता छन् । गम्भीर घाइते तीनजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।
गुल्मीको इस्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट हिँडेका थिए । दुर्घटनास्थलबाट उनीहरुले तय गरेको गन्तव्य करिब १५ किमि पर पश्चिममा पर्छ ।
जिप मध्यपहाडी लोकमार्गको सडकदेखि करिब ३५० मिटर तल बडिगाड खोलामा खसेको हो ।
सो स्थानमा सडक राम्रो छ । गएको वर्षमात्र कालोपत्र गरिएको थियो । जोखिमपूर्ण सडक छैन । ठूलो दुर्घटना निम्त्याउनेखालको सडकको अवस्था देखिँदैन । तर, मंगलबार बिहान करिब १० बजेतिरको ठूलो दुर्घटनाले अपूरणीय क्षति पुर्यायो ।
प्रहरीले जिपको ‘स्टेरिङ लक’ हुँदा दुर्घटना भएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख, प्रहरी निरीक्षक सुरज खड्काले चालक ‘स्टेरिङ लक’ हुँदा दुर्घटना भएको अनुसन्धानबाट देखिएको जानकारी दिए ।
तीव्रगतिमा रहेको जिपको ‘स्टेरिङ लक’ भएपछि नियन्त्रण गुम्न पुगेको र खोलामा खसेको उनको भनाइ छ ।
दुर्घटनास्थल बागलुङ सदरमुकाम बागलुङदेखि करिब ८० किलोमिटर पश्चिममा पर्छ ।
दुर्घटनामा चालकसमेत १४ जनाले ज्यान गुमाएका हुन् ।
यो पनि पढ्नोस्









प्रतिक्रिया दिनुहोस्