
कञ्चनपुर, मंसिर १६ । सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार पाँच सय ३२ रुपैयाँ तोके पनि कञ्चनपुरका किसानले उक्त मूल्य पाउन सकेका छैनन् ।
धानको मूल्य तोकिएपछि उत्साहित भएका किसान धान बिक्री गर्दा सरकारले तोकेको मूल्य नपाएपछि निराश भएका छन् ।
बजारमा मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार पाँच सय सुनेपनि आफूले दुई हजार रुपैयाँका दरले धान बेच्नु परेको पुनर्वास नगरपालिका ५ का किसान तिल रानाले बताए ।
उनले हिउँदे बाली लगाउन खर्चको जोहोका लागि लागत मूल्यसमेत नउठ्ने गरी धान बिक्री गर्नुपरेको बताए । सरकारले मोटो धान प्रतिक्विन्टल दुई हजार पाँच सय ३२ र मध्यम धान दुई हजार ६ सय ७३ रुपैयाँ तोकेको छ ।
मूल्य निर्धारण गरेपनि व्यापारीले सरकारी मूल्य लागू नगर्दा यहाँका किसान सस्तोमा धान बेच्न बाध्य छन् ।
यता सरकारले हरेक वर्ष धानको मूल्य निर्धारण गरी खाद्य संस्थानमार्फत धान खरिद गर्दैआएपनि समयमै खरिद प्रक्रिया शुरु नगर्दा किसान मर्कामा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्