Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई जिम्मा दिएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको केन्द्रीय सदस्य मोहम्मत इस्तियाख राईले जानकारी दिनुभयो ।

जसपा पार्टीको आधिकारिकता भट्टराई–यादव समूहले पाएसँगै गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । जसपाले परराष्ट्रसहित पाँच मन्त्रालय पाउने चर्चा छ ।

बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ ।

त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत मार्क्सवादी समूहको अमृत पुरी समूह, लिम्वुवान राष्ट्रिय मञ्चका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो ।

जसपाले थापालाई पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा, बेगालाई केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ । बिहीबार पुन बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने खतिवडाको भनाइ छ ।