३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


औद्योगिक व्यापार मेलामा स्थानीयको आकर्षण, हस्तकलाका सामग्री खरिद गर्नेको भीड


0
Shares

 -दीपक घिमिरे/ईमेज 

भैरहवा, मंसिर १५ । नेपाली हस्तकला तथा स्वदेशी उत्पादनप्रति आम उपभोक्ताको आकर्षण बढेको छ ।

भैरहवामा जारी पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा राखिएका स्वदेशी उत्पादन तथा हस्तकलाका सामाग्री प्रति आम उपभोक्ताको आकर्षण बढेको हो ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिएसंगै हस्तकला तथा स्वदेशी उत्पादन प्रति सर्वसाधारणको आकर्षण बढेको हो । भैरहवामा जारी पाँचौं लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा रहेका नेपाली हस्तकला र स्थानीय उत्पादनमा आम उपभोक्ताको आकर्षण बढेको हो ।

महोत्सवमा नेपाली ढाका, अल्लाको कपडा, महिलाले हातले बुनेका सुईटर, बच्चाका खेलौनालगायतका सामाग्रीको बिक्रि बढेको छ । ४ सय स्टलहरु रहेका महोत्सवमा करिब ४० प्रतिशत स्थानीय उत्पादनका स्टलहरु रहेका छन् ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिन महोत्सवमा स्टल भाडामा समेत ४० प्रतिशत छुट दिईएको स्टल संयोजक रामचन्द्र रेग्मी बताउँछन् ।

विशेष गरी स्थानीय उत्पादनअन्तर्गत कृषिका ६०, घरेलु साना उद्योगका १ सय, महिला हस्तकला अन्तर्गत ६०, स्थानीय गार्मेन्टका ५० स्टलहरु रहेको उद्योग व्यापार संगठन रुपन्देहीले जनाएको छ ।

महोत्सवमा पछिल्ला बर्षहरुमा नेपाली हस्तकला, महिला हस्तकला तथा कृषि उपजका सामाग्रीले बिस्तारै बजार लिएको उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी बताउँछन् । हस्तकलाका स्टलमा राखिएका कुशन, बुटिक सल, कुर्ता, माला, झोला, पर्ससहितका वस्तुहरुले ग्राहकको ध्यान तानेको छ ।

हस्तकला सामाग्रीको विक्री बढ्नुले स्वदेशी वस्तुको प्रबद्र्धन भएको ए फोर ट्रेनिङ सेन्टर प्रा.लि.का संचालक हेमा बेल्बासे बताउँछन् ।

महोत्सवमा भैरहवा कारागारमा रहेका कैदीबन्दीले तयार गरेका हस्तकला सामाग्री किन्नेहरुको पनि उल्लेख्य भिड लागेको छ । कैदीबन्दीले तयार पारेको मुडा, जुत्तालगायतका सामानको बिक्रि उल्लेख्य मात्रामा भएको आयोजकको भनाइ छ ।