
– डिबी विष्ट/ईमेज
बझाङ । गत वर्षको तुलनामा मूल्यमा गिरावट आएपछि बझाङका यार्सा संकलकहरु निराश भएका छन् ।
सोचेअनुसार मूल्य नपाएपछि कतिपयले यार्सा बिक्रीमै आनाकानी गरेका छन् भने कतिपय यो पेशाबाटै पलायन हुन थालेका छन् ।
गतवर्ष प्रतिकिलो १७ लाख २० हजार रुपैयाँमा जिल्लामै बिक्री भएको यार्साको मूल्य यो वर्ष सात लाख रुपैयाँ मात्र निर्धारण गरिएको छ ।
अप्रत्यासित ढंगले यार्साको मूल्यमा गिरावट आएपछि बझाङका अधिकांश यार्सा संकलकहरुले यार्सा बिक्री गर्न मानिरहेका छैनन् ।
पहिलेको मूल्यमा आधाभन्दा पनि कम भएपछि तीन महिनासम्म विभिन्न जोखिम मोल्दै यार्चा संकलन गरेकाहरु झस्किएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा नै मुल्य गिरावट भएका कारण मूल्य घटेपछि दैनिक घरव्यवहार चलाउन समेत धौधौ भइरहेको स्थानीय कलक बोहोराको गुनासो छ ।
बझाङ जिल्लाको ७५ प्रतिशतभन्दा बढी आर्थिक कारोबार यार्साबाटै हुने गरेका कारण यसबाट व्यापार व्यवसायमा समेत निराशा छाएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको भनाइ छ ।
बझाङ जिल्लाको हिमाली भेगमा पर्ने दुर्गम सुर्मा र साइपाल गाउँपालिकाका अधिकांश वासिन्दाहरुको आम्दानीको स्रोत यार्सागुम्बा नै हो ।
तर त्यसको मूल्यमै अप्रत्यासित गिरावट आएपछि त्यसमै निर्भर रहेकाहरुलाई दैनिक घरव्यवहार सञ्चालनका लागि समेत सकस भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्