Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


आफूहरुलाई क्रियाशील सदस्यबाट बन्चित गर्ने कांग्रेस अधिवेशनमा भाग नलिन कार्यकर्तालाई कांग्रेस नेता जोशीको आग्रह


0
Shares

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूहरुलाई क्रियाशील सदस्यबाट समेत बन्चित गरिएको भन्दै त्यस्तो पार्टीको अधिवेशनमा भाग नलिन आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

क्रियाशील सदस्यता वितरणमै चलखेल र धाँधली भएको आरोप लगाउँदै जोशीले खासगरी गृहजिल्ला तनहुँमा सक्रिय नेता कार्यकर्तालाई क्रियाशील सदस्यताबाटै बञ्चित गरिको जिकीर गर्नुभएको छ ।

एक वक्तव्य निकाली नेता जोशीले भन्नुभएको छ, ‘यस्तो निरर्थक महाधिवेशन आउँछ जान्छ । भूलबस, सम्बन्धित व्यक्तिको मन्जुरी विना नै जालसाजी गरी नवीकरण गरिएका र झुक्यानमा परी नवीकरण गर्ने साथीहरु पनि यो निरर्थक अधिवेशनमा सहभागी नहुनुहोला । हाम्रो कोही आफ्नो र कोही पराइ छैन । हाम्रा लागि यो अधिवेशनमा सहभागी हुने सबै समान हुन् । सबै साथीहरू निरपेक्ष रहनुहोला ।’

जोशीले थप भन्नुभएको छ, ‘नेपाली काङ्ग्रेसको स्थानीयतहको अधिवेशन नजिकिँदै गर्दा तनहुँ जिल्लाका नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका तथा आफ्नो–आफ्नो ठाउँमा पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका कृयाशील सदस्य साथीहरूले यो अधिवेशनमा सहभागी नहुने निर्णय गर्नुपर्ने परिस्थिति सृजना हुनु पार्टीका इमान्दार कार्यकर्ता एवं शुभचिन्तकहरूका लागि अत्यन्त दुःखदायी र गम्भीर निर्णय हो । तनहुँमा नेपाली कांग्रेसका प्रतिबद्ध साथीहरूका लागि यो गम्भीर विषय बनेको छ ।’

विगतमा संघ, प्रदेश रस्थानीय तहको निर्वाचनमा टिकट वितरणदेखि १४ औँ माहाधिवेशनको क्रियाशील सदस्यको वितरणमा देशभर नै वितण्डा मच्चाइएको पनि उहाँको आरोप छ ।

यस्तो हर्कतले केही मानिसको स्वार्थ पूरा होला भए पनि समग्रमा नेपाली कांग्रेसलाई समाप्तीको बोटोमा डो¥याउने चेतावनी उहाँको छ ।