पाल्पा । यस वर्ष धान उत्पादन घट्ने भएको छ । पाल्पामा धानको लागि पकेट क्षेत्र मानिएका ठाउँहरुमै धान कम फलेपछि जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो ।
पाल्पाको माडी फाँट, रामपुर फाँट, अर्गली फाँट, कचँल फाँट, हुर्गी, गेझाँ, सर्देवालगायतका ठाउँ धान उत्पादनको लागि राम्रो मानिन्छ ।
कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यो वर्ष रोपाईंको समयमा युरिया मलको अभाव र फौजी किरा प्रकोपको कारण धान उत्पादनमा कमी आएको हो ।
कार्यालयले जिल्लामा धानको उत्पादन १० प्रतिशतसम्म घट्ने जनाएको छ । अहिले पनि पाकेको धानमा बाला लाग्नु पर्नेमा अधिकाश बालामा कालो पोकेले भरिएको छ ।
अहिले पाल्पाका फाँटहरुमा धान काट्ने, चुट्ने, पराल ओसार पसारमै कृषकहरु व्यस्त देखिएका छन् । तर उनीहरु धान राम्रो नफलेकोमा चिन्तित देखिएका छन् ।
दुःख र परिश्रमअनुसारको धान नफल्दा आफूहरुको मेहनत र ज्याला समेत नउठ्ने उनीहरु बताउँछन् ।
पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा वर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ ।





प्रतिक्रिया दिनुहोस्