– मानबहादुर वली/ईमेज
सुर्खेत । काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्र हो । यहाँ वर्षौ पुराना ढुङ्गाबाट बनेका कलात्मक मूर्तिहरु छन् ।
अहिले तीनै मूर्तिहरु जोडेर पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण गरेको छ ।
यो क्षेत्र वीरेन्द्रनगरको उत्तरतर्फ एकान्त ठाउँमा अवस्थित छ । यस क्षेत्रमा वीरेन्द्रनगर वडा नम्बर ९ ले पर्यटन व्यवसाय बढाउन र पर्यटकलाई सुविधा दिन घोडा चढाएर घुमाउन सुरु गरेको छ ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारमा घोडा सवारमार्फत पर्यटकलाई अवलोकन गराउन थालिएको छ ।
पर्यटक आकर्षण बढाउन र रोजगारीका अवसर सृजना गर्ने भन्दै वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयले काँक्रेविहार क्षेत्र अवलोकन गर्न आउने पर्यटकको आकर्षण र सुविधाका लागि घोडा सवारको व्यवस्था गरेको हो ।
अहिले बाह्य र आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । अवलोकनका लागि आएका पर्यटकहरुले रमाइलो वातावरणमा घोडा चढि घुम्दा आनन्द लागेको वीरेन्द्रनगरकी पूर्णकुमारी खड्का बताउँछिन् ।
घोडा सवारमार्फत् काँक्रेबिहार अवलोकन गराउन थालिएपछि आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । काक्रेविहार पूर्ननिर्माणको काम सम्पन्न पछि घोडा सवारमा आएका श्याम वलीले मन्दिर परिसरमा सरसफाइको कमी भएकाले नराम्रो सन्देश जाने बताए ।
घोडा सवार गराउन दुईजना कर्मचारीहरु राखिएको छ । घोडा सवार गरेवापत बढीमा तीन सय रकम लिने गरिएको भन्दै घोडा सञ्चालक कर्मचारी बिष्णु कार्कीले पर्यटकहरुले रकम घटाउन माग गरेको बताउँछन् ।
वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाका १६ वटै वडामा पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रवद्र्धनमा लाग्ने योजना अन्तर्गत काँक्रेबिहारबाट सुरु गरिएको बताइएको छ ।
अहिले काँक्रेबिहार हेर्न आउने पर्यटककै कारण ४ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् भने अन्य धेरैको व्यापारमा वृद्धि भएको छ ।
काँक्रेबिहार जस्ता कर्णाली प्रदेशका अधिकाँस रमणीय ठाउँहरु छन् । यी ठाउँहरुको पनि प्रवद्र्धन गर्न सके रोजगारीसँग सँगै आन्तरिक अम्दानीमा समेत वृद्धि हुने देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्