Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मन्त्रीबाट बर्खास्त भएपछि गोकर्ण विष्ट लेख्छन्–’ज्यामी माहुरीले झैं काम गरें’


0
Shares

काठमाडौं । बर्खास्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूले ज्यामी माहुरीले झैं काम गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री पदबाट बाहिरिएपछि फेसबुकमार्फत उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !

एकबर्ष अघि १४ मंसिरमा नयाँ युगको सुरुवात भन्दै काठमाडौंका सबै बिजुलीको पोलमा प्रधानमन्त्रीको तस्बिर टाँसेर भव्य रूपमा सामाजिक सुरक्षा कोष घोषणा कार्यक्रमको नेतृत्वदायी भूमिका निर्वाह गरेका विष्टले मन्त्री पद खुस्कनुलाई सुखद मानेका छैनन् ।

उनको फेसबुक स्टाट्स र त्यसका आएका प्रतिक्रियाहरुमा विष्टको प्रशंसा गरिएको छ । मलेसिया, जापान र युएईमा शून्य लागतमा कामदार पठाउने सम्झौता, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कामहरुलाई ऐतिहासिक मानेको सरकारले विष्टलाई गलहत्याएको प्रतिक्रियाहरु आएका छन् ।

सन्तोष कुँवरले प्रतिक्रिया लेखेका छन्–‘प्रचन्डको खास या ओलीको दास नहुनु गोकर्ण बिष्टको अयोग्यता थियो, परिवारबाद र गुटबादलाई समाजबादको नाम दिएर जनता र कार्यकर्तामा भ्रम छर्ने दुई अध्यक्षलाई महाधिबेशनसम्म मोज गर्न छुट छ ।’

विष्टको स्टाट्समाथि सयौं फलोअर्सहरुले पदबाट हटाएकोमा आक्रोश ब्यक्त गरेका छन् । प्रशंसनीय काम गरेपनि विष्टले जस नपाएको र सबै जस प्रधानमन्त्री आफैंले लिएर विष्टलाई ओझेल पार्न खोजिएको प्रतिक्रियाहरु आइरहेका छन् । तर कतिपय म्यानपावर ब्यवसायीहरुले मन्त्री पदबाट बर्खास्त गरिनुलाई सुखद मानेका छन् ।

 

 

Skip This