Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


एमाले अलग हुने निश्चित, एक अर्काकाे बाेली सुन्नै चाहँदैनन् ओली र नेपाल


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन दिएको समय सोमबार ५ बजे सकिएको छ । तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा नेपाल पक्षका २३ सांसद्ले हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ता मध्येकी एक सांसद् निरादेवी जैरु, संविधान र लोकतन्त्रको रक्षाका लागि गरिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिन नसकिने अडानमा नेपाल पक्ष रहेको बताउनुहुन्छ । ‘शेरबहादुरजीका लागि भन्दा पनि देशको संविधान, संघीयता र लोतान्त्रिक गणतन्त्रको रक्षार्थ हस्ताक्षर गरेका कारणले फिर्ता लिनुपर्ने सवाल नै उठ्दैन’, उहाँ भन्नुहुन्छ ।

ओलीले कारबाही गर्छु भनेर दिएको धम्कीलाई अवैध बताउँदै जैरुले कारबाही नै गरे पनि मान्य नहुने चेतानवी दिनुहुन्छ । ‘वार्ताको प्रमुख डा. भीम रावल र वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही भइसक्दा पनि वार्ता र पार्टी एकताको सम्भावना छ भनेर बसिरहेका छौं,’ उहाँ भन्नुहुन्छ, ‘कमिटी वैध नभएकाले त्यसले गरेका कारबाहीहरू मान्य हुँदैनन् । देश, जनता र संविधानका लागि एकपटक मात्र होइन सैयौंपटक कारबाही सहन तयार छौं ।’

ओली र नेपालको ‘इगो’का कारण एमाले जोडिनै नसक्ने ठाउँमा पुगेको विश्लेषण हुन थालेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले समेत तत्काल ओली र नेपाललाई मिलाउन नसकिने भनेर हरेस खाइसक्नुभएको छ । ‘माधव कमरेड धेरै रिसाउनुभाको छ केपी ओलीसित, केपी ओली पनि माधवजीसँग बेस्सरी रिसाउनुभाको छ,’ उहाँ भन्नुहुन्छ, ‘यी दुईटाको रिस हुनेबेलासम्म उहाँहरू मातहतमा रहेका साथीहरूको चिन्ताले पनि काम लाग्नेवाला छैन ।’ आफू दुवैको रिसलाई शिथिल बनाउनतर्फ लागेको भए पनि तत्काल सम्भव नहुने उहाँको भनाइ छ ।

ओली र नेपाल यति टाढिएका छन् कि, कुराकानी गर्न र भेट्नसमेत चाहिरहेका छैनन् । दोस्रो तहका नेताहरूले दुई नेता मिलाउन गरिरहेको भगिरथ प्रयास निरर्थक बनिरहेको छ ।

Skip This