
काठमाडौं, मंसिर ४ । पछिल्लो समय नेपालमा वैदेशिक लगानीमा वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा नेपालमा लगानी गर्न आउने उद्योगको संख्या र लगानीमा वृद्धि भएको उद्योग विभागले जनाएको हो ।
चालू आर्थिक वर्षको चौथो महिनाको अन्तिमसम्ममा नेपालमा १७ अर्ब रुपैयाँ बढी लगानी स्वीकृत भइसकेको विभागले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा १२ अर्ब ७७ करोडको मात्रै लगानी स्वीकृत भएको विभागको तथ्यांक छ ।
चालू आर्थिक वर्षको यस अवधिसम्म ३४३ आयोजनाका लागि लगानी स्वीकृत भएको छ भने अघिल्लो वर्षको यसै अवधिमा जम्मा १५४ मात्रै आयोजनाको लागि लगानी स्वीकृत भएको विभागले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ प्रतिशतसम्म लगानी वृद्धि भएको विभागका प्रवक्ता विनोदकुमार खड्काले जानकारी दिए ।
नेपालमा लगानी सम्मेलनको प्रभावका कारण पनि लगानी प्रतिबद्धता बढेको हुनसक्ने खड्का बताउँछन् ।
लगानी वृद्धिले नेपालमा लगानीको वातावरणमा सुधार आएको विश्व बैंकको प्रतिवेदनलाई पुष्टि गरेको बताउँछन्, योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री ।
अघिल्लो वर्ष यसै अवधिमा उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी पाँच अर्ब ७८ करोड रकमको लगानी स्वीकृत भएको थियो भने यस वर्ष यसै समयमा ६ अर्ब ८५ करोड बढीको पर्यटन क्षेत्रमा मात्रै लगानी भित्रिएको छ ।
यस्तै, ६ अर्ब ४० करोड बढीको सेवा क्षेत्रमा लगानी भित्रिएको विभागको तथ्यांक छ ।
पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न होटल तथा सेवामूलक क्षेत्रमा लगानी वृद्धि भएको विभागले जनाएको छ ।
नेपालमा सबैभन्दा बढी लगानी चीनबाट भित्रिएको छ भने दोस्रोमा भारत र तेस्रोमा बेलायतबाट भित्रिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्