Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


जलविद्युतको हव बन्दै त्रिशूली, दुई दर्जन आयोजनाको काम धमाधम


0
Shares

-सुजित भण्डारी/ईमेज    

रसुवा । त्रिशूली नदी जलविद्युत्को हवको रुपमा विकास भइरहेको छ ।

त्रिशूली नदीको पानीलाई सदुपयोग गरी निर्माणको क्रममा रहेका जलविद्युत् आयोजनाको काममा कुनै पनि अवरोध नआए अबको पाँच वर्षभित्र त्रिशूली विद्युत् करिडोर क्षेत्र बन्ने निश्चित भएको छ ।

नेपाल–चीन सिमानामा रसुवागढीदेखि नुवाकोट हुँदै पृथ्वी राजमार्गको गल्छीसम्म त्रिशूली नदी किनारामा मात्रै १२ वटा जलविद्युत आयोजनाको काम भइरहेको छ ।

रसुवा र नुवाकोटमा विद्युत् विकास विभागबाट ५५ वटा जलविद्युत् आयोजनाले अनुमति लिएका छन् । जसमध्ये दुई दर्जन जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।

हाल दुई जिल्लाअन्र्तगत रसुवाको स्याफ्रुवेशीमा रहेको चिलिमे जलविद्युत् आयोजनाले २१ मेगावाट, नुवाकोट त्रिशूलीमा रहेको त्रिशूली जलविद्युत्ले २१ मेगावाट र सोही विद्युत् गृहको पानीलाई सदुपयोग गरेर देवीघाट जलविद्युत् केन्द्रले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

विद्युत उत्पादनका लागि ठूलो सम्भावना रहेकोे त्रिशूली नदीबाट बिजुली उत्पादनको ठूलो तयारी भइरहँदा नुवाकोट र रसुवाको आर्थिक तथा सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने छ ।

विद्युत् क्षेत्र करिडोरअन्र्तगत सीमा रसुवागढीबाट भोटेकोसीदेखि त्रिशूली–गल्छीसम्म एक दर्जन जलविद्युत् आयाजनाले विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरेका छन् ।

यस विद्युत् करिडोर क्षेत्र त्रिशूली नदीबाट मात्र ८ सय २७ मेगावाट विद्युत् उत्पादन हुने योजना छ । जसमध्ये भोटेकोसीबाट मात्र ३ सय २४ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।

६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको निर्माण सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडि सकेको छ ।

३७ दशमलव १ मेगावाटको त्रिशूली थ्री बी, नेपाल विद्युत् प्राधिकरणले बनाउँदै छ भने बाँकी सबै जलविद्युत् आयोजना निजी लगानीमा निर्माण भइरहेका छन् ।

त्रिशूली करिडोर अन्र्तगत २१६ मेगावाटको माथिल्लो त्रिशूली १, चीनको निजी श्रेत्रको कम्पनी हाइड्रो चाइना कर्पोरेशनले निर्माण गर्दैछ ।

माथिल्लो त्रिशूली २, १०२ मेगावाट हाइड्रो चाइनाको लागतमा, २२९ मेगावाटको माथिल्लो त्रिशूली २ ए, १० मेगावाटको माथिल्लो मैलुङ सोही पानीको वहावबाट ५ मगावाटको मैलुङ खोला जलविद्युत्केन्द्र निर्माण हुने छ ।

त्यस्तै नुवाकोटको तुप्चेमा निर्माण हुन लागेको ६५ मेगावाटको मध्य त्रिशूली गंगा आयोजना, गल्छीमा निर्माण हुने ७५ मेगावाटको गल्छी जलविद्युत् आयोजना रहेका छन् ।

रसुवाको भोटेकेसी नदीसँगै विभिन्न खोलामा निर्माण भइरहेका आयोजना अन्र्तगत प्लान्टको रुपमा रहेको चिलिमे जलविद्युत् आयोजनाको लगानीमा निर्माणाधीन ४२ मेगावाटको साङ्जेन, १४ दशमलव ६ मेगावाटको माथिल्लो साञ्जेन र १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माणको क्रममा छन् ।

विद्युत् विकास विभागले अनुमति दिएको आयोजना समयमै निर्माण भए नुवाकोट र रसुवाबाट मात्रै १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुने छ ।

विद्युत् उत्पादन अनुमति लिएका आयोजनामध्ये रसुवागढी, माथिल्लो त्रिशुली १, सान्जेन तल्लो र माथिल्लो सान्जेनसहित एक दर्जन जलविद्युत् आयोजनाको काम भइरहेको छ ।