
प्रज्ञा तिमल्सीना
काठमाडौं, असार ८ । कोरोना संक्रमितको संख्यामा कमी आएको भन्दै सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ ।
दिनहँु ५ सय संक्रमित भेटिइरहँदा पनि निषेधाज्ञा खुकुलो बनाएको सरकारको कदमले संक्रमण फैलिने जोखिम बढेको छ । गत वर्ष पनि संक्रमणमा कमि आएको भन्दै लकडाउन खुकुलो बनाउँदा त्यसले संक्रमणको दर ह्वात्तै बढाएको थियो । यो वर्ष पनि सरकारले त्यही नियति दोहोराउँदा पुनः संक्रमण बढ्ने खतरा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
झण्डै २ महिनादेखि खाली काठमाडौं उपत्यकाका सडक, गल्लीहरु भरिन थालेका छन् । सडकमा सवारी साधनको चाप बढ्दो छ । निषेधाज्ञाका कारण घरमा बसिरहेको जनजिवन केही चलायमान हुन थालेको छ । पसलहरु समेत समय तालिका अनुसार सञ्चालनमा आउन थालेका छन् । कोरोना संक्रमणको चेनब्रेक गर्न सरकारले बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असार ८ गते देखि खुकुलो हुँदा सडक बजारमा सवारी आवागमन सँगै मानिसको भिडभाड बढेको हो ।
बैशाख महिनाभरी नियन्त्रण बाहिर पुगेको संक्रमण जेठ महिना लागेसँगै केही कम हँुदै गएको देखिएको थियो । हाल काठमाडौ उपत्यकामा समेत संक्रमितको संख्या घट्दो छ । उपत्यकाका अस्पतालमा पनि संक्रमितको संख्यामा केही कमी आएको छ । हाल काठमाडौं उपत्यकामा १० हजार माथि संक्रिय संक्रमित छन् । दिनहुँ ५ सय हाराहारी संक्रमित भेटिने गरेका छन् । संक्रमित संख्या केही कम भएको भन्दै निषेधाज्ञा केही खुकुलो बनाउँदा यसले आगामी दिनमा जोखिम बढाउने सम्भावना कस्तो हुन्छ भन्नेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल यसो भन्नुहुन्छ ।
देशभर परीक्षण गरिएका मध्ये २० प्रतिशत माथि व्यक्तिमा सक्रमण देखिएको छ । पछिल्लो समय परीक्षणमा समेत कम हँुदै जाँदा पनि संक्रमितको संख्या कम देखिएको सरकारी तथ्यांकले नै देखाउँछ । अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशमा संक्रमण बढ्दो क्रममा छ । प्रदेश १ को उदयपुर, पाचँथर, तेह्रथुम, भोजपुर, संखुवासभा, वागमति प्रदेशको दोलखा, नुवाकोट, रसुवा, गण्डकी प्रदेशको बाग्लुङ्, मुस्ताङ्, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, डोल्पा, मुगु, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा संक्रमण बढ्दो क्रममा छन् । प्रदेश २ का ८ वटै जिल्लामा संक्रमण घट्दो क्रममा रहेको मन्त्रालयको तथ्याकले देखाउँछ ।
पाँच सय माथि संक्रिय संक्रमित रहेका स्थानमा कडाई गर्ने सरकारी नितिका कारण पछिल्लो समयको निषेधाज्ञा सुरु भएको थियो । तर दिनहुँ ५ सय माथि नयाँ संक्रमित थपिइरहेको उपत्यकामा निषेधज्ञा खुकुलो पार्नुले गत वर्षको जस्तै नियति नदोहोरिएला भन्न सकिँदैन् ।
प्रतिक्रिया दिनुहोस्