३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


पोखराको सौन्दर्य देखेर चकित परें, संसारकै रमणीय गन्तव्य : राष्ट्रपति हमिद


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक २८ । नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरा भ्रमण गरेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् पत्नीसहित पोखरा आएका राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशका मन्त्री तथा सांसदहरुले स्वागत गरेका थिए ।

उनले फेवातालमा डुंगा सयरदेखि नजिकै रहेको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गरे ।

राष्ट्रपति हमिदले फेवातालमा करिब ४५ मिनेट डुंगा सयर गरेका थिए ।

उनलाई फिस्टेल गेटदेखि वाराही मन्दिरसम्म नेपाल प्रहरीको डुंगामार्फत् अवलोकन गराइएको थियो ।

त्यसलगत्तै उनी फेवा किनारको फिस्टेल लजमा उनको आतिथ्यमा प्रदेश सरकारले आयोजना गरेको दिवाभोजमा सरिक भए ।

गण्डकी प्रदेश सरकारले गरेको स्वागत कार्यक्रममा बोल्दै राष्ट्रपति हमिदले पोखराको सौन्दर्य देखेर आफू चकित परेको बताए ।

उनले पोखराकाबारेमा सुनेको तर फेवातालमा डुंगा सयर गरेर हेर्दाको मज्जा आफ्नो लागि अविस्मरणीय रहेको बताए ।

राष्ट्रपति हमिदले पोखरालाई ‘संसारकै रमणीय गन्तव्य’ भनेका छन् । आकाश र डुंगाबाट पोखरालाई नियाल्दा संसारकै रमणीय गन्तव्य रहेको उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले राष्ट्रपति हमिदको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फिस्टेल लजबाट राष्ट्रपति हमिद हेलिकोप्टरमार्फत् रुपाकोट रिसोर्टमा पुगेका थिए । उनलाई रुपाकोट रिसोर्टमा स्थानीयले नेपाली संस्कृति झल्कने झाँकी र बाजागाजले स्वागत गरेका थिए । उनको स्वागत र सम्मानमा मारुनी र सोरठी नाचसमेत देखाइएको थियो ।

पोखराको करिब पाँच घन्टाको बसाइँपछि उनी बिहीबारै नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् ।