३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


जनताको पैसा संवेदनशील भएर प्रयोग गर्नोस् : गभर्नर


0
Shares

काठमाडौं, कात्तिक २५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताको पैसा संवेदनशील भएर प्रयोग गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

समृद्धि फाइनान्सको सोमबार काठमाडौंमा उद्घाटन गर्दै गभर्नर नेपालले कमाउने सोंचमात्र भए अरु व्यवसाय गर्न सुझाव दिए ।

१० प्रतिशत लगानी गरेर अरु ९० प्रतिशत सर्वसाधारणको लगानीमा सन्चालन हुने संस्थालाई अन्य निजी व्यापारजसरी चलाउने छुट नहुने उनको भनाइ छ ।

समस्याग्रस्त संस्थाबाट मुक्त भएको वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स नयाँ लगानीकर्ता प्रवेशसँगै समृद्धि फाइनान्सको नाममा सन्चालनमा आएको हो ।

गभर्नर नेपालले संस्थालाई सुध्रिने मौका दिइएको भन्दै निक्षेपकर्ताको पैसा संवेदनशील भएर उपयोग गर्न सुझाव दिएका हुन् ।

कम्पनीका अध्यक्ष टिकानिधि लोहनीले संस्थागत सुशासन पालनमा आफूहरु कटिबद्ध रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत पुष्पप्रसाद श्रेष्ठले संस्थाको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ रहेको भन्दै दुई वर्षभित्र ८० करोड पुर्‍याउने योजना रहेको बताए ।

संस्था ‘मर्जर’का लागि पनि सकारात्मक रहेको भन्दै उपयुक्त समयमा पहल गरिने उनले बताए ।