३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


खुल्ला कारागारको ठेक्का सम्झौता सकियो, तर बनेन कारागार


0
Shares

बाँके । गनापुरमा निर्माणाधीन देशकै एकमात्र खुल्ला कारागारको काम रोकिएको छ । प्रीफाई बिल्डिङ्गका लागि आवश्यक सामग्री अभाव भएको भन्दै बाँकेमा निर्माणाधीन खुला कारागार निर्माणको काम दसैंपछि रोकिएको हो  ।

३ वर्षको सम्झौता समाप्त भइसक्दा पनि काममा अपेक्षित परिणाम नआएपछि काम लम्बिने देखिएको छ  । आर्थिक वर्ष २०७२/०७३ मा  घिसिङ्ग विजय यु एस जेभीसँग ३ वर्षको ठेक्का सम्झौता भएको थियो ।

सम्झौताको समयावधि यही कात्तिक ८ गते सकिए पनि अहिलेसम्म सुरक्षाकर्मी बस्ने व्यारेकमात्र निर्माण सम्पन्न भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका सव–इन्जिनियर भीमबहादुर रावलका अनुसार सम्झौता अवधि थप्ने तयारी गरिएको छ ।

उनका अनुसार उक्त भवनको लागत १ करोड ८३ लाख रुपैयाँ रहेकामा हालसम्म ७० लाख ७६ हजार रुपैयाँ खर्च भइसकेको छ । ६ विघा क्षेत्रफलमा निर्माणाधीन कारागारको अहिले कैदीबन्दीका परिवार बस्ने भवन निर्माण भइरहेको छ ।

३२ परिवार क्षमताको उक्त भवनको पर्खाल लगाउने काम बाँकी रहेको सव–इन्जिनियर भीमबहादुर रावलले बताए । खुल्ला कारागारमा राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर आफ्नो काममा जान पाइन्छ तर सुत्न भने साँझ कारागारमै आइपुग्नुपर्ने प्रावधान छ ।

जहाँ परिवारका सदस्यसहित बस्न पाइन्छ । यस्तो किसिमको कारागारमा प्रत्येक कैदीलाई एउटा कोठा दिइने भएकाले पहिलो चरणमा १०० कोठा बनाउन थालिएको हो ।

नेपालमा खुल्ला कारागार नरहेकाले केन्द्रीय कारागार विभागले गनापुरमा खुल्ला कारागार बनाउन थालेको हो । पाँच वर्षभित्र काम सक्ने लक्ष्य रहे पनि त्यसअनुसार भने कामको प्रगति हुन सकेको छैन ।