
बागलुङ । वलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ ।
धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
२६ वर्षदेखि बन्द रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालनमा आएर नेपाल एरलाइन्स तथा तारा एरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ ।
बागलुङ नगरपालिकाले विमानस्थल सञ्चालनका लागि पहल गरे पनि कच्ची धावनमार्ग, विमानस्थलसंग पुग्ने सडक कालोपत्रे नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल बन्द भएको हो ।
नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रेका लागि पहिलोचरणमा चार करोड बजेट विनियोजन गरेको बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा. सूर्य पाठकले जानकारी दिनुभयो ।
तीन वर्षमा पूर्ण रुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी धावनमार्गसहित अन्य पूर्वाधार तयार गर्ने सरकारी लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्