३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


द्रुतमार्ग निर्माणका लागि काटिएका रुखहरुको व्यवस्थापन हुँदै


0
Shares

हेटौंडा । निजगढ काठमाडौं द्रुतमार्ग निर्माणका लागि काटिएका रुखहरुको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

सरकारले द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएपछि सडक रेखांकनमा परेको मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं १८ एक्लेखेतको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिको रुखहरु वन मन्त्रालयको वन व्यवस्थापन निर्देशिका २०७२ बमोजिम कटान गर्न आदेश दिएको थियो ।

२०७४ सालमा सेनाले ४३ हजार ७ सय २७ क्युफिट साल तथा अन्य जातका रुख काटेर एक्लेखेतमा घाटगद्दी गरेको थियोे । जसमध्ये ३५ हजार क्युफिट सालको काठ र १ सय १० चट्टा दाउरा रहेकोे छ ।

करोडौं मूल्यका सो काठहरु पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा राखिएको छ ।

समितिका उपभोक्ताले सो काठहरु घरगोठ बनाउन माग गरेपछि वन मन्त्रालयको सचिव स्तरीय निर्णयबाट भूकम्प पीडित तथा उपभोक्तालाई डिभिजन वन कार्यालय मकवानपुरको स्वीकृतिमा समितिले बिक्री सुरु गरेको छ ।

सो समितिका अध्यक्ष मन्जु पण्डितले भूकम्प पीडितलाई प्रति क्युफिट २ सय ५० रुपैयाँका दरले र अन्य उपभोक्तालाई ३ सय रुपैयाँका दरले गोलाइ काठ २ हजार ७ सय ४३ क्युफिट बिक्री गरेको जानकारी दिए ।

पञ्चकन्या सामुदायिक बन समितिको जिम्मामा रहेकोे ३५ हजार क्युफिट सालको काठमध्ये १७ हजार क्युफिट काठ समितिलाई बिक्री गर्न स्वीकृति दिएको र बाँकी १७ हजार क्युफिट काठ भुकम्प पिडित जिल्लाहरुमा वितरण गरिने जनाइएको छ ।