काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै निर्माणाधीन ६ हजार भन्दा धेरै पूर्वाधार आयोजनाका काममा प्रत्यक्ष असर देखा परेको छ ।
पूर्वाधार निर्माणको मुख्य सिजनमै कोरोनाको दोस्रो लहर सुरू भएसँगै निर्माणाधीन आयोजनाको काम प्रत्यक्ष रुपमा रोकिएका हुन् ।
वैशाखदेखि जेठ महिनासम्म नेपालका अधिकांश सडक कालोपत्रे तथा ढलानको काम हुन्छ ।
यही सिजनमा कोरोना संक्रमण देखा परेसँगै निर्माणाधीन आयोजनाको काम प्रभावित भएको हो ।
कोरोनाका कारण राष्ट्रिय गौरवका आयोजनादेखि अन्य साना तथा ठूला आयोजनाहरु प्रभावित भएका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार हाल ६ हजार भन्दा बढी आयोजनाको काम प्रभावित भएको छ ।
कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले दोस्रो लहरुको कोरोना संक्रमण बढेसँगै विकासे पूर्वाधारहरुको निर्माण गर्दा स्वास्थ्यका मापदण्ड अपनाउन निर्देशन जारी गरेको थियो ।
तर सीसीएमसीको मापदण्डकै कारण श्रमिकहरु काम गर्न डराएको महासंघको आरोप छ ।
सडक, सिँचाइलगायतका पूर्वाधार निर्माणको काम भवन जस्तो एकै ठाउँमा सीमित नहुने भएकाले संक्रमण बढ्ने त्रास अझै बढी हुन्छ ।
यस्तै सडकलगायतका पूर्वाधार निर्माण तथा पीच गर्न तराई मधेश तथा भारतका कामदार ल्याउनुपर्ने भएकाले स्थानीयले पनि अवरोध गर्ने गरेको महासंघले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्