
काठमाडौं, कात्तिक १५ । अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त नेपाली राजदूतहरूले आर्थिक कूटनीतिलाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम् उपयोग गर्दै आफू कार्यरत् देशबाट मुलुकभित्र लगानी प्रवर्द्धनमा परिणामदायी कार्य गर्ने प्रतिबद्धता नवनियुक्त राजदूतहरूले व्यक्त गरेका हुन् ।
अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेशराज दाहाल र स्पेनका लागि नवनियुक्त राजदूत दावाफुटी शेर्पाले नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुलुकले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्न आर्थिक कूटनीतिका माध्यमबाट सहयोग गर्ने र सोक्रममा महासंघसँगसमेत नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता उनीहरूको छ ।
महासंघका अध्यक्ष भवानी राणाले विशेषगरी आफू कार्यरत् मुलुकहरूमा नेपालमा लगानीको वातावरण रहेको सन्देश दिन आग्रह गरिन् ।
यसैगरी, निजी क्षेत्रबीचको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, पर्यटनलगायतका विषयमा पर्याप्त प्रचार–प्रसार गरी नेपालप्रति त्यहाँका जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाइदिन पनि उनले आग्रह गरिन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका युवाहरूको प्रमुख रोजाइ बन्दै गएको अष्ट्रेलिया र युरोपको एक महत्वपूर्ण देश स्पेनलाई नेपालसँग आर्थिकरूपमा जोड्ने ‘इकोनोमिक कनेक्टिभिटी’लाई मुख्यरुपमा जोड दिनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्