Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


२९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी


0
Shares

सिराहा। नेपाल विद्युत् प्राधिकरण वितण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछी लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।

लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख बढी बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख, व्यापारिकतर्फ रु ९९ लाख ७१ हजार, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख  र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख बराबर बक्यौता रकम उठाउन बाँकी रहेको जनाइएको छ ।

विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट रु १५ लाख १४ हजार, लाहान नगरपालिकाबाट रु तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट रु तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट रु एक लाख नौ हजार, जिल्ला वन कार्यालय लहानबाट रु ९७ हजार , जनता मावि बाखरबाट रु एक लाख २१ हजार बक्यौता असुल्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

यस्तै हेल्थपोष्ट,  नेपाल रेडक्रस सोसाइटी,  कोल्ड चेञ्जर, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट पनि उल्लेख्य बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ ।

विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लगत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ ।