Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अत्यन्त भावुक हुँदै डा. रुइतले गरे संसारसमक्ष अपीलः ‘नेपाल र नेपालीका लागि वास्तविक मानवता देखाउन आग्रह’


0
Shares

sanduk ruit

काठमाडौं, बैशाख ३१ । प्रख्यात आँखा विशेषज्ञ डाक्टर सन्दुक रुइतले कोरोना महामारीको यस कठीन क्षणमा नेपाल र नेपालीलाई सघाउन विश्वभरका मानिससँग अपील गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै डा. रुइतले नेपाल र नेपालीलाई मन पराउने संसारभरका मानिससाग महामारीको यो समयमा मानवता देखाउन अपील गर्नुभएको हो ।

डाक्टर रुइतले भन्नुभएको छ, ‘म तीन करोड जनसंख्या भएको देशको तर्फबाट नेपालको भलो चाहने संसारभरका करोडौं मनलाई स्पर्श गर्न चाहन्छु ।’

मुलुकको अवस्था चित्रण गर्दै उहाँले भन्नुभएको छ, ‘नेपालीले आफ्नो दुःख–सुख दुबै निकै गौरव र लचकताका साथ ग्रहण गर्छन् । हाल यो कोभिड–१९ महामारीको दोस्रो लहरमा संक्रमितको संख्या डढेलो झैं बढ्दै गइरहेको अवस्थामा यहाँका अस्पताल र स्वास्थ्य प्रणाली निरीह भएका छन् ।’

निकै भावुक देखिनुभएका डा. रुइतले भन्नुभएको छ, ‘तपाईंहरुलाई थाहा नै छ, नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो र हामी प्रजातन्त्रको प्रक्रिया बुझिरहेका एउटा देश हौं, विशेषगरी हाम्रो देशले केही समय अघि मात्रै महाप्रलयकारी भूकम्पको सामना गरेको छ, त्यसैले हाम्रो देशमा स्थिति खासै सहज छैन । हामी अघि बढ्न प्रयासरत छौं ।’

नेपाललाई अहिले सहयोगी मनको अधिक खाँचो रहेको भन्दै उहाँले थप्नुभयो ‘नेपाल र नेपालीलाई माया गर्नुहुने करोडौं दर्शकलाई यतिबेला वास्तविक मानवता देखाउन आग्रह गर्दछु । यो देश र यहाँका जनतालाई तपाईंहरुको खाँचो छ ।’

सबैले जुटेर सघाए कोरोनाबाट भएको बढ्दो मृत्युदर कम गर्दै अदृश्य दुश्मनलाई परास्त गर्न सक्ने विश्वास डा. रुइतले व्यक्त गर्नुभएको छ ।