
भक्तपुर, कात्तिक ९ । हिन्दूहरुको अर्को ठूलो पर्व तिहार फूल र उज्यालोको पर्वकारुपमासमेत परिचित छ ।
लक्ष्मीपूजा एवं भाइटीकाको दिनमा विशेष प्रयोग हुने सयपत्री र मखमली फूलको केही वर्षयता भक्तपुरमा पनि व्यावसायिक खेती हुँदै आएको छ ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा मखमली, सयपत्रीलगायतका फूलहरु लगाएका छन् ।
जग्गा भाडामा लिएरसमेत केही किसानहरुले फूलखेती गर्ने गरेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर–७, गुन्डुकी कल्पना बस्नेतले विगत ८ वर्षदेखि मखमली फूलखेती गर्दै आएकी छन् ।
उनकाअनुसार यो वर्ष पनि घरमै आएर व्यापारीले मखमली फूलको प्रतिमाला १८ रुपैयाँसम्म दिएका छन् । तर, त्यही माला व्यापारीले ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।
अन्य उत्पादनजस्तै फूलमा पनि विचौलिया हावी हुँदा किसान मर्कामा परेको गुनासो मैयाँ बस्नेतले गरिन् ।
तिहारको समयमा सयपत्री फूलको मालाअनुसार २०० रुपैयाँसम्म पर्ने गरेको छ ।
एक रोपनी क्षेत्रफलमा मखमली फूल राम्रो फूलेमा तीन हजार ५०० ओटासम्म माला तयार हुने उनीहरुको भनाइ छ ।
व्यावसायिक फूलखेती गरेका किसानलाई प्राविधिक ज्ञान, सीप र तालिमको व्यवस्था गरिए थप उत्पादन बढाउन सकिने र फूलमा आत्मनिर्भर हुने कृषक बताउँछन् ।
भक्तपुरमामात्रै वार्षिक दुई करोड बढी फूलको कारोबार हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्