
काठमाडौं, कात्तिक ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले सार्वजनिक गरेको ‘डुइङ बिजनेस इन्डेक्स’ले सकारात्मक सन्देश दिएको बताएका छन् ।
प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट शुक्रबार राजधानीमा अर्थ मन्त्रालय र नेपालस्थित विश्व बैंक कार्यालयले गरेको संयुक्त सम्मेलनमा मन्त्री खतिवडाले थप सुुधार गर्नुपर्ने विषयमा सुधार गर्दै लगिने बताए ।
उनले सबैको सहयोगमा नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको प्रतिवेदन आएको बताए ।
उनले संघीयता कार्यान्वयनकाक्रममा देखिएको दोहोरो करसम्बन्धी समस्या आगामी वर्ष नदेखिने पनि बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विश्व बैंकको इन्डेक्सले नेपालमा लगानी भित्र्याउन आग्रह गर्न केही सहज बनाएको बताए ।
श्रम सम्बन्ध धेरै सुधारिएको भन्दै उनले सामाजिक सुरक्षाका विषयमा देखिएको समस्यामा पनि सुधार आवश्यक रहेको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर ढुंगानाले कतिपय सुधारका विषय सन् २०२१ को प्रतिवेदनमा आउने विश्वास व्यक्त गरे ।
कतिपय सुधार यही वर्ष औंल्याइएको र नपरेका विषय आगामी वर्षको प्रतिवेदनमा समेट्ने विश्व बैंकले बताएको उनले जानकारी दिए ।
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्समा नेपाल ९४औं स्थानमा उक्लिएको छ । नेपाल गत वर्षभन्दा १६औं स्थानमाथि उक्लिएको हो ।
प्रतिक्रिया दिनुहोस्