२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कर्णालीले पर्यटनबाटै लाभ लिन सक्छ : उपराष्ट्रपति


0
Shares

सुर्खेत, कात्तिक ७ । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिनसक्ने बताएका छन् ।

सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको बिहीबार अवलोकन गर्दै उनले पर्यटन प्रवर्द्धन गर्नसके कर्णालीले मुहार फेर्ने बताएका हुन् ।

उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यकारुपमा विकास गर्नुपर्ने धारणा राखे ।

‘सिंजाको महत्वबारे विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषीलाई बुझाउन जरुरी छ । सिंजा क्षेत्रले जति महत्व पाउनुपर्ने त्यति पाएको छैन’–उनले भने–‘कम्तीमा कर्णालीका मुख्य गन्तव्यस्थल रारा, सिंजा र काँक्रेविहारलाई जोडेर पर्यटन प्रवर्द्धन गर्नसके भविष्यमा उचित लाभ पाउन सक्छौं ।’

उनले संसारको जुनसुकै कुनामा बसोबास गर्ने नेपालीभाषी भएपनि कम्तीमा एकपटक आफ्नो भाषाको उत्पत्तिस्थल सिंजा क्षेत्रको भ्रमण गराउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनसँगै कर्णालीका प्रदेशप्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले काँक्रेविहार र बुलबुले उद्यान क्षेत्रको अवलोकन गरेका थिए ।

काँक्रेविहारमा वीरेन्द्रनगर नगरपालिकाले पञ्चेबाजासहित उपराष्ट्रपतिको स्वागत गरेको थियो ।

नगर उपप्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको विकासको अवस्था र ऐतिहासिक पक्षकाबारेमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

उपराष्ट्रपति पुनले शुक्रबार सिंजा महोत्सवको उद्घाटन र हुम्लामा एक विद्यालयको शिलान्यास गर्ने कार्यक्रम छ ।

उद्घाटन गरेनन्

यसैबीच, उनले बिहीबार वीरेन्द्रनगर, खजुरास्थित एक निजी अस्पतालको उद्घाटन गर्ने कार्यक्रमको तयारी भएपनि अन्तिम समयमा रद्द गरे ।

अस्पताल सन्चालनको पूर्वाधार नपुगेको सूचनाका आधारमा उद्घाटन समारोहमा सहभागी नभएको उपराष्ट्रपतिको सचिवालयले जनायो । रासस