२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


क्यामामाइलकोे तेल विक्री नभएपछि किसान चिन्तित


0
Shares

कञ्चनपुर । क्यामामाइलको तेल बिक्री नभएपछि कञ्चनपुरका किसान समस्यामा परेका छन् ।

गत फागुनमा उत्पादन भएको क्यामामाइलकोे तेल हालसम्म बिक्री नभएपछि यहाँका पाँच सय परिवार किसान समस्यामा परेका हुन् ।

गतवर्ष प्रतिलिटर ५५ देखि ६० हजार रुपैयाँका दरले बिक्री भएको सुगन्धित तेलले यस वर्ष उचित मूल्य नपाउँदा बिक्री नभएको किसानले बताएका छन् ।

उनीहरुले बिचौलीयाका कारण तेल बिक्री नभएको गुनासो गरेका छन् ।

गतवर्ष प्रतिलिटर ५५ हजारमा बिक्री भएको क्यामामाइलको तेललाई व्यापारीहरुले २५ हजारका दरले मागेकाले आफूहरुले बिक्री गर्न नसकेको किसान बताउँछन् ।

विगतका वर्षमा नेपालगञ्जबाट व्यापारीहरू घरमै पुग्ने गरेपनि यसवर्ष भने तेल खरिद गर्न कोही नआएको किसानको भनाई छ ।

धान काटेपछि मंसिर पहिलो हप्तादेखि क्यामामाइल लगाउन सुरु गर्ने गरेपनि यसवर्ष पूरानै तेल नबिकेकाले किसान चिन्तित बनेका छन् । कञ्चनपुरका पाँच सय परिवारले २५ सय ३० कठ्ठा जमिनमा जडीबुटी खेती गरिरहेका छन् ।

यस वर्ष झण्डै साढे चार सय लिटर क्यामामाइल सुगन्धित तेल उत्पादन भएकोमा कम मूल्यका कारण अझै साढे दुई सय लिटर तेल बिक्री हुन बाँकी छ ।

विगतमा बाहिरी देशमा तेलको निर्यात हुने गरेपनि यस वर्ष माग नभएकाले समस्या देखिएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।