२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पूर्वपश्चिम राजमार्गका दर्जनौँ पुलहरु जीर्ण, जुनसुकै बेला दुर्घटनाको खतरा


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । पूर्वपश्चिम राजमार्गको पथलैया ढल्केबर खण्डका दर्जनौँ पुलहरु जीर्ण र असुरक्षित बन्दै गएका छन् ।

केही पुलहरु भासिएको र अरुमा पनि जोखिम बढेको भए पनि पुल महाशाखाले भने बजेटको समस्या देखाएर निरीह जवाफ दिएको छ ।

तत्कालीन राजा महेन्द्रको शासनकालमा रुसको सहयोगमा पूर्वपश्चिम राजमार्गको पथलैया– ढल्केबर सडकखण्ड निर्माण भएको थियो ।

यस खण्डमा रहेका ६९ वटा पुलहरु नदी गहिरिँदै जाँदा जोखिममा पर्दै गएका छन् ।

पुलका पिलर र जोइन्टहरु छुट्दै जाँदा राजमार्ग नै खतरामा परेको हो ।

पुल सिंगल लेनका र रोड दुई लेनको हुँदा बाराको दुधौरा पुल भासिएको र बर्दिबासको पुल नै बगाएको थियो ।

अन्य पुलहरुमा समेत खतरा दखिएको सडक विभागले जनाएको छ ।

यस सडकखण्डको सबैभन्दा लामो बाग्मती पुलमा पिलरको जग नै देखिन थालेको  भासिन सुरु भएकाले धरापमा पर्दै गएको प्राविधिकले सुझाइरहेका छन् ।

दैनिक ४ हजारभन्दा बढी सवारी साधन गुड्ने यस सडकका सबै पुल सडक विभागको पुल महाशाखाले एकैपटक बनाउन नसक्ने जनाएको छ ।

२ नम्बर प्रदेशका बारा पर्सा रौतहट सर्लाहीका पुल र सडक हेर्ने जिम्मा रहेको ३ नम्बर प्रदेशस्थित सडक डिभिजन कार्यालयका प्रमुख शुमन योगेशले पुलको आयु सकिएको र निर्माणको लागि दातृसंस्थाहरु गुहार्नुपर्ने अवस्था आएको बताए ।

पुल पटक पटक भासिने, डाइभर्सन बनाएर अस्थायी रूपमा सवारी साधन सञ्चालन गरिने क्रम दशकयता चलिरहेको छ ।

मुख्य राजमार्गका १ हजार ७ सय ८ वटा पुलमध्ये प्रत्येक वर्ष ५ र ७ वटा ठूला पुलमा समस्या आउने गरेको र मर्मतका लागि वार्षिक ५० करोडभन्दा बढी खर्च हुने गरेको पुल महाशाखाले जनाएको छ ।

रूसले बनाइदिएका पथलैयादेखि ढल्केबरसम्मका करिब ५५ वटा पुलमा बढी समस्या र जोखिममा  रहेको महाशाखाको भनाइ छ ।

राजमार्गका अधिकांश पुलमा समस्या रहेकाले जोखिम मोलेर सवारी चलाउनुपरेको चालकहरुको गुनासो छ ।

अधिकांश पुलहरू सिंगल लेन र रोड दुई लेन हुँदा बोटल नेक जस्तो भएको हुदा पुलमा धेरै जाम र दुर्घटनाको खतरा बढेको हो ।