Logo १४ माघ २०८२, बुधबार | Thu Jan 29 2026


‘कोरोना संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय’


0
Shares

काठमाडौं, बैशाख १८ । विवेकशील साझा पार्टीले कोरोना संक्रमितको उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाएको छ ।

विज्ञप्तिमार्फत् विवेशशील साझाले सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि ६ बुँदे सुझाव समेत दिएको छ ।

‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाई नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक ५ हजार बढी सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो,’ भनिएको छ ।


सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव

१. काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत(साधनको समुचित प्रयोग।

२. सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना।

३. सेना र प्रहरीकासहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल।

४. मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पी।पी।ई। ९एएभ्० जस्ता आवश्यक सामग्री सहयोगको अपिल।

५. हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन।

६. निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी।

विवेकशील साझा पार्टी आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई कोरोना विरुद्धको सङ्घर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न पुनः आह्वान गरेको छ ।