
सरोज अधिकारी (इमेज)
काठमाडौं, कात्तिक १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र केही समय मथ्थरजस्तो देखिएको शीर्ष तहको विवाद फेरि प्रकट हुन थालेको छ ।
कार्यकारी अध्यक्षको भूमिका अपेक्षा गरी पार्टी एकीकरण गर्न पुगेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो दिनमा आफ्नो भूमिका खुम्चन थालेपछि सार्वजनिकरुपमा नै फेरि असन्तुष्टि पोख्न थालेका छन् ।
करिब दुई महिनाअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि विदेश भ्रमणमा जाँदा पार्टी एकीकरण भएको वर्ष दिनपछि अध्यक्ष दाहालले पार्टी कमिटी बैठकको अध्यक्षता गर्न पाएका थिए ।
माधवकुमार नेपालबाहेकका सबै सचिवालय सदस्यहरु प्रधानमन्त्री ओलीको पक्षमा त्यसैबेला उभिएका थिए । प्रधानमन्त्रीले दिने कतिपय जवाफ योबीचमा अध्यक्ष दाहाल आफैं दिन तम्सिए ।
जब प्रधानमन्त्री ओली स्वदेश फर्किए र सबै अधिकार आफैं प्रयोग गर्दै पार्टी बैठकको अध्यक्षतासमेत गर्न थालेपछि अध्यक्ष दाहाल फेरि समस्यामा परेको चर्चा नेकपामा छ ।
अझ दाहालनिकट मानिने नेता कृष्णबहादुर महरा बलात्कारको आरोपमा फसेपछि सभामुख चयनको विषयमासमेत दुई अध्यक्षबीच कुरा नमिल्दा अध्यक्ष दाहाल फेरि एकपटक विरक्तिएको संकेतहरु देखिएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणमा पनि सोचेजस्तो आफ्नो उपस्थिति नबनेकामा पनि दाहालमा छटपटी रहेको जानकारहरु बताउँछन् ।
सायद, त्यही छटपटीका कारण हुनसक्छ, विपक्षी नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गरेको चियापान कार्यक्रममा पुगेका अध्यक्ष दाहालले ‘राजनीतिमा जेपनि सम्भव छ’ भन्दै कांग्रेससँग फेरि पनि सहकार्य गर्ने दिन आउनसक्ने बताएर प्रधानमन्त्री ओलीलाई घुमाउरो पारमा घुर्क्याए ।
यतिमात्र होइन, आफूले मन्त्रिपरिषद् पुर्नगठन हुँदैछ भन्दा प्रधानमन्त्रीले विगतमा त्यसको ठीकविपरीत व्यवहार गरिदिएपछि अध्यक्ष दाहाल यो विषयमा बोल्नै चाहँदैनन् ।
हुँदा–हुँदा शुक्रबार धनगढीमा पत्रकारहरुलाई उनले मन्त्रिपरिषद् पुर्नगठनबारे प्रश्नै नगरीदिन आग्रह गरे ।
बिहीबार चितवनमा भएको कार्यक्रममा उनले पार्टीभित्र आफूलाई पेल्ने र बदनाम गर्ने काम भएकोप्रति प्रस्टरुपमा असन्तुष्टि राखे ।
अध्यक्ष दाहालले एकले अर्कालाई पेलेर र बदनाम गरेर सक्ने खेल पार्टीभित्र मौलाएको भन्दै यसले ‘क्यान्सरकै रुप’ लिने चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि केही समय विदेश जाँदा कार्यकारी अध्यक्षको जिम्मेवारी लिनेक्रममा माधवकुमार नेपाललाई वरिष्ठ नेताबाट हटाउनसमेत अध्यक्ष ओलीलाई साथ दिएका दाहाल फेरि एकपटक अन्योलमा परेजस्तो उनकै अभिव्यक्तिहरुले देखाइरहेको छ ।
राजनीतिक दलकोरुपमा प्राप्त हुने महत्वपूर्ण पदमध्येको एक सभामुख चयनसमेत यही समयमा परेकाले पनि नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी धारबीचको अन्तरसंर्घष फेरि एकपटक सतहमा आउने संकेतकारुपमासमेत यस्ता अभिव्यक्तिहरुलाई हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्