
दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असोज २७ । वर्षौंदेखि मुआब्जा विवादमा रहेको काठमाडौंको तीनकुनेस्थित खाली जमिनमा अब भने पार्क बन्ने सम्भावना बढेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणकाक्रममा रातारात बनाइएको पार्क अब भने व्यवस्थित हुन्छ कि भन्ने आशा पलाएको छ ।
मुआब्जा लिन नमानेका जग्गाधनी र काठमाडौं महानगरपालिकाबीच सहमतिको प्रयास थालिएसँगै स्थायी पार्क बन्ने बाटो खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको काठमाडौंको तीनकुनेस्थित खाली ५३ रोपनी जमिनमा स्थायी पार्क बन्ने सम्भावना बढेको छ ।
अन्तर्राष्ट्रि सम्मेलन, अतिविशिष्ट व्यक्तिको भ्रमणकाक्रममामात्रै यसको मुहार फेरिने गरेको छ ।
विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्री आउने मिति तय भएपछि यो खाली जमिन कसरी व्यवस्थित गर्ने भन्ने विषय सरकारको टाउको दुखाइ बन्ने गरेको छ ।
हालै चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणकाक्रममा पनि यसको मुहार फेरियो ।
यसअघि, जस्तापाताले छोप्ने गरिएकोमा यसपटक भने चारैतिर फूल र रुख रोपेर सजाइयो । यसको जिम्मा पायो, काठमाडौं महानगरपालिकाले ।
रातारात व्यवस्थित गरिएपछि स्थानीय पनि दंग परेका छन् । अहिले देखिएको सुन्दरतालाई कायम राख्नुपर्ने धेरैको आवाज छ ।
सरकारले अधिग्रहण गरेको यो जग्गामा मुआब्जा विवाद छ । तर, पछिल्लो समय काठमाडौं महानगरपालिका र जग्गाधनीबीच मुआब्जा विवाद समाधानका लागि पहल भएको छ ।
दुवै पक्ष विवाद समाधान गर्न सकारात्मक बनेपछि अहिले बनाइएको पार्कले अब पूर्णता पाउने सम्भावना बढेको छ ।
पार्क बनाउनका लागि विभिन्न डिजाइनहरु पनि तयार पारिएको छ । मुआब्जा विवाद सुल्झिएसँगै कामले गति लिने अपेक्षा गरिएको छ ।
विमानस्थलबाट मुख्य सहर प्रवेश गर्ने मार्गमै रहेको यो अव्यवस्थित जग्गालाई पार्क बनाउन सकिए नेपाल आउने पर्यटकहरुको नजरमा काठमाडौं अझ आकर्षक बन्नसक्छ ।
अन्थया विशिष्ट पाहुना आउँदामात्र झारा टार्ने गरी बनाइने यस्ताखालका अस्थायी संरचनाले श्रम र पैसाको बर्वादीमात्र हुनेछ ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा वर्षौंदेखिको मुआब्जा विवाद सुल्झिने संकेतले काठमाडौंले एउटा मनोरम पार्क पाउने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस्