३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय अध्यक्ष दाहालले गर्ने


0
Shares

काठमाडौं, वैशाख ८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने अधिकार अध्यक्ष दाहालले लिन सक्ने अधिकार दिएको हो ।

स्थायी कमिटीले अध्यक्ष दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिन सक्ने गरी अधिकार दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले नेकपामा एकीकृत भएका एमाले र माओवादी केन्द्रलाई अलग पार्टी बनाइदिए पछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए पनि अहिलेसम्म निर्णय भने गरेको छैन ।

नेकपामा रहँदै ओलीसँग दूरी बढेको दाहालले ओली नेतृत्वको सरकार हटाएर अरु दलको नेतृत्वमा सरकार बनाउने प्रयास गरे पनि सफल भएको छैन ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको पूर्व राजपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफूतिर मिलाएर भए पनि सरकार जोगाउने खेलमा लाग्नुभएको छ ।

ओलीविरुद्ध विपक्षीहरुको बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकार गठनका लागि खासै पहल गर्नुभएको छैन ।