
दीपक श्रेष्ठ र सानु माली (इमेज)
काठमाडौं, असोज २२ । चिनियाँ राष्ट्रपति सी चिनफिङको यही असोज अन्तिम साता हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं सिँगार्ने काम निकै तीव्रगतिमा भइरहेको छ ।
रातारात सडक चिल्लो पारिएका छन् भने विभिन्न स्थानमा फूलका बिरुवा रोपेर सिँगार्ने काम पनि उस्तै गतिमा भइरहेको छ ।
करिब दुई दशकपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतमा काठमाडौंका सडक चिल्लो पार्नेदेखि विभिन्न स्थान सिँगार्ने काम धमाधम भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी हिँड्ने ‘रुट’ र आसपास पर्ने स्थानको मुहार फेर्न सरकार लागिपरेको छ ।
सरकारले गत वर्ष सम्पन्न बिम्स्टेक सम्मेलनका बेला ‘फ्लेक्स’ले बारेर छोपेको तीनकुनेस्थित चौर यसपालि भने आँखाले भ्याउनेसम्ममा स–सानादेखि ठूल्ठूला रुख रोपेर कृत्रिम बगैंचा बनाइँदैछ ।
काठमाडौं प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुनेको खाली जग्गा पार्क बन्दैछ, केही दिनको अवधिमै ।
करिब ५३ रोपनी क्षेत्रफल रहेको खाली जग्गामा कल्की, धुपीलगायत विभिन्न प्रजातिका फूल रोपिएको छ । करिब ८ हजार दुबोको चपरी राखिँदैछ ।
बगैंचा निर्माणको ठेक्का पाएका ठेकेदार रविन गौतम पहिलाजस्तो टिनको बारले छोप्नुभन्दा रुख–बिरुवा रोप्दा राम्रो देखिने भएकाले यस्तो गरिएको बताउँछन् ।
सडक कालोपत्रे गर्ने, ट्राफिक संकेत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोट–बिरुवा रोप्ने काम भइरहेको छ ।
धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । माइतीघर मन्डला सजाउने काम पनि उत्तिकै भइरहेको छ । मन्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ ।
विगतमा पनि विशिष्ट व्यक्तिहरू नेपाल आउँदा यसैगरी सिँगार्ने गरिएको थियो ।
सडक, पुल निर्माणाधीन क्षेत्रमा प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ ।
चिनियाँ राष्ट्रपति सीको स्वागतमा करिब ४० ओटा स्वागतद्वार निर्माण हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्