
-विनोद सिंह विष्ट/ईमेज
बैतडी । दशैंलाई खानपीनको पर्वका रुपमा चिनिन्छ तर बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामाा भने बढीजसो भोकभोकै दशैं मनाइन्छ ।
तर यहाँ भने अधिकांश नागरिक दशैंमा भक्तिमै ब्यस्त हुने गर्दछन् । बैतडीसहित सुदूरपश्चिममा पनि दशैंको चहलपहल बढेको छ । तर यहाँ पुस्तौंदेखि सात्विक दशैं मनाइदै आएको हो ।
देशका अन्य भागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, जाग्राम बस्नेलगायतका चलन रहेका छन् । यहाँ दशैंको बेला खानपीन भन्दा भक्ति भावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पुजन हुने गर्दछ ।
दशैंको बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैं मनाउने गरेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।
दशैंको बेला बैतडीका प्रत्येक गाउँमा देवीदेवताका मन्दिरमा पुजाआजा हुने भएकाले नवरात्र उपवास गरेर पुजा गर्ने चलन रही आएको छ ।
बैतडीकासहित सुदूरपश्चिममका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घटस्थापनादेखि नै पुजाआजा जारी रहेका छन् ।
धेरैजसो नागरिकले नवरात्रीको नौं दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रहेको छ ।
सुदूरपश्चिममा दशैंलाई गौरा पर्वसंगै जोडेर हेर्ने गरिएको छ । भदौ महिनामा गौरीका पूजा गरेजस्तै अश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको आचार्य लेखकले बताए ।
उनले भने, ‘मानसरोबर क्षेत्रसंग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमी भएकाले यो क्षेत्रका मनाइने चाडपर्वहरु सात्विक हिसाबले मनाउने चलन रहेको छ ।’
दशैंलाई पारिवारिक मिलनको पर्वका रुपमा समेत लिने गरिएको छ । दशैंको बेला मन्दिरमा पूजाआजा गर्नका लागि तराईमा बसाईसराई गरेकाहरु पनि पहाडमा पुगेका स्थानीयबासीहरुले बताएका छन् ।
दशैंलाई पुस्तौंदेखि सात्विक पर्वको रुपमा मनाइने गरेको महाकाली साहित्य संगमका अध्यक्ष चन्द्रमोहन तिवारीको भनाई समेत रहेको छ । दशैंको बेला मिठोमसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ । तर यहाँका विभिन्न शक्तिपीठहरुमा दशैंको दिन पुजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरु ब्रत बस्ने गर्दछन् ।
सात्विक भोजन भन्नाले शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसितलाई भनिन्छ । साथै परिश्रम पूर्वक आफनै धनद्धारा ल्याएका पवित्र खादयपर्दाथहरु सात्विक भोजनमा पर्दछन ।
यस्तै गाईको दुध र गाईको दुधबाट बनेका सबै परिकारहरु घ्यु, गहुँ, चामल जौ, मुग, हरियो पात भएको साग, घिरौला, लौका, आदि सात्विक भोजन अन्तर्गत पर्दछन् ।
मन्दिरमै जमरा
देशका अन्य ठाउँमा घरघरमा जमरा राख्ने चलन भएपनि बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा भने शक्तिपीठहरुमा सामुहिक रुपमा जमरा राख्ने चलने छ ।
सामूहिक रुपमा जमरा राख्दा सबैसंग भेटघाट हुने गरेको र यसले गर्दा आपसी सद्भाव पनि बढ्ने पण्डित दयाकृष्ण पन्तको भनाइ छ ।
सामूहिक रुपमा मन्दिरमा जात्रा लागेर मन्दिर तथा मन्दिर भण्डार गृहमा जमरा राख्ने गर्दछन् उनले भने“ यसले पारिवारिक मिलन समेत हुने गरेको छ । यसले समाजमा भातृत्वको भावनाको विकास गर्ने विश्वास छ ।”
मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन बर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पुर्याउने निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्