
-ध्रुव भट्टराई/ईमेज
विराटनगर । विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्म पुग्ने ६ लेनको उत्तर दक्षिण व्यापारिक मार्गको निर्माणकार्य अलपत्र बन्दै गएको छ ।
काम सुरु भएको सात वर्ष हुँदासम्म पनि कामको प्रगति निराशाजनक देखिएको हो । सात मिटर चौडाइको विराटनगरको रानीदेखि धरानसम्मको सडकलाई ६ लेन बनाउने गरी सात वर्षअघि निर्माणकार्य सुरु भएको थियो ।
तर अहिलेसम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । राष्ट्रिय गौरवको परियोजनाका रुपमा लिइएको यस कार्यको ढिलाइप्रति सर्वत्र आलोचना पनि भइरहेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भने सडक निर्माणको अवस्थाका बारेमा विशेष चासो राख्दै आएका छन् ।
कूल ४९ किलोमिटर सडकमध्ये पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किलोमिटर सडकखण्डमा काम भइरहेको छ तर प्रगति सन्तोषजनक देखिएको छैन ।
तरहरादेखि धरानसम्मको बाँकी सडकलाई ६ लेनमा बिस्तार गर्ने परियोजनाको ठेक्का भने अहिलेसम्म लाग्नसकेको छैन ।
सडक निर्माणका स्थानीयको अबरोधदेखि अन्तर सरकारी निकायबीचको समन्यवको अभावमा सडक विस्तारको काम सुस्त भएको उत्तर दक्षिण व्यापारिक मार्ग परियोजना कार्यालय इटहरीका प्रमुख बद्री शर्मा बताउँछन् ।
रानीदेखि इटहरीसम्मको सडक विस्तारमा दुहवी क्षेत्रको ६ सय ४० मिटर खण्डमा मापदण्डअनुसार जग्गा प्राप्त नहुँदा मुख्य समस्या देखिएको छ ।
दस अर्ब रुपैयाँभन्दा बढीको संशोधित लागत अनुमान गरिएको राजमार्गको चौडाइमा भने एकरुपता छैन ।
विराटनगरमा ३० मिटर, इटहरीमा ५० मिटर फराकिलो सडक बन्ने भएपछि इटहरीका स्थानीयले अवरोध गर्दै आएका छन् ।
अबरोध नभएका क्षेत्र रानीदेखि निमुवा त्यसैगरी दुहवीदेखि इटहरी बजार सीमासम्मको क्षेत्रमा पनि कामले खासै गति लिन नसकेको कान्छाराम निर्माण सेवाका प्रोजेक्ट म्यानेजर दीपक थिङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्