Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


मार्जिन कारोबार सुविधाको कार्यान्वयन


0
Shares

काठमाडौं, असोज १५ । मार्जिन कारोबार सुविधाको कार्यान्वयन सुरु भएको छ ।

नयाँ वित्तीय उपकरण मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन नेपाल धितोपत्र बोर्डबाट भएका पहलस्वरुप मंगलबार एक धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाको कार्यान्वयन गरेको बोर्डले जनाएको हो ।

अब लगानीकर्ताहरुले दोस्रो बजारमार्फत् सेयर खरिद गर्न तोकिएको धितोपत्रहरुको मार्जिन राखेर सेयर खरिद गर्नसक्ने छन् ।

हालसम्म नेप्सेबाट २१ ओटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरिसकिएकोमा अन्य धितोपत्र दलाल व्यवसायीहरुलेसमेत सर्वसाधारण लगानीकर्तालाई मार्जिन कारोबार सुविधा चाँडै उपलब्ध गराउनुपर्ने देखिएको बोर्डले जनाएको छ ।

यसरी सेयर खरिद–बिक्री गर्न एकद्वार प्रणालीमार्फत् सबै सुविधा उपलब्ध गराउने  बोर्डको नीति/निर्देशनअनुरुप नयाँ वित्तीय उपकरणकोरुपमा मार्जिन कारोबार धितोपत्र बजारमा प्रवेश गराइ धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्रसमेत विस्तार भएको बोर्डको दाबी छ ।

मार्जिन कारोबार सुविधाले लगानीकर्ताको हित संरक्षण गर्न तथा दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि गरी बजारलाई थप चलायमान गराउने बोर्डको अपेक्षा रहेको छ ।