
काठमाडौं, असोज १५ । दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट झन्डै १२ लाख यात्री बाहिरिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यही असोज ५ गतेदेखि बुधबारसम्म ११ लाख ९१ हजार ९८८ यात्री राजधानीबाट बाहिरिएका छन् ।
त्यस्तै, सात लाख ६९ हजार यात्री राजधानी भित्रिएका छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्री भित्रिनेक्रम भने विस्तारै घट्दोक्रममा रहेको जानकारी दिए ।
उनकाअनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ ।
अहिलेसम्म दसैंका लागि एक लाख २७ हजार ३०६ यात्रीले अग्रिम टिकट ‘बुकिङ’ गरेको प्रमुख ढकालले जानकारी दिए ।
प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाडकेन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो ।
सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।
विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए ।
राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
नागढुंगा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए ।
उनले चाडबाडमा बढी भाडा लिने र यात्रीलाई दुःख दिनेको निगरानी र कारबाहीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।
महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारबाही गरिएको छ ।
योबीचमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ८४८ सवारीलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्